काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्दैछन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटि बैठक सुरु भएको हो । आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गर्ने प्रयास गरेको भन्दै ओलीले कटाक्ष गरेका हुन्। उनले अरुको एजेण्डा बोकेर आफूमाथि प्रयास गर्ने प्रयास भएको समेत बताए । उनले भने, 'आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँडेका छन्। हामी त्यही एजेन्डा बोकेर हिँडेका छौँ। तत्कालीन प्रधानमन्त्री (म) लाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने?' उनले आफूलाई कारबाहीको माग गर्ने कुरा विपक्षी पार्टी र मिडियाले समेत भन्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेटेको भन्दै रोष प्रकट गरेको एक नेताले बताए ।
पोखरेलले सार्वजनिक रुपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने बताएका थिए । उनले कोही दोषी भए कारबाहीको भागीदार हुनुपर्ने समेत बताउँदै आएका छन् । शुक्रबार सचिवालय बैठकमा पनि ओलीले विधान संशोधन गरेर २ उपाध्यक्ष र २ सचिव थप्ने प्रस्ताव राखेका थिए। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताले विरोध गरेपछि उनी पछि हट्न बाध्य भएका थिए।
एमाले केन्द्रीय कमिटीमा ओलीको बहुमत छ। सम्भवत: सचिवालयबाट असफल भएको विधान संशोधन प्रस्ताव उनी बहुमतको बलमा केन्द्रीय कमिटीबाट पास गराउने प्रयासमा छन्। यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विधान संशोधन प्रस्ताव ल्याइए प्रतिवाद गर्ने चेतावनी दिएको छ । पोखरेल अध्यक्ष पदको प्रत्यासी हुन् ।
पोखरेल समूहका एक नेताले विधान संशोधनको प्रस्ताव ल्याइए प्रतिवाद गरिने बताएका छन् । ‘सचिवालय बैठकले (विधान संशोधन) नगर्ने निर्णय गरेको छ, निर्णय विपरीत प्रस्ताव आए विरोध गर्छाैं’, उनले भने । एमालेको दसौँ महाधिवेशनमा एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरेर १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले वरिष्ठसहित ४ उपाध्यक्ष हटाएर तीनमा झारेको छ। यस्तै एक महासचिव, तीन उपमहासचिव र सात जना सचिव राख्ने निर्णयलाई विधान महाधिवेशनले अनुमोदन गरेको थियो। तर तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजेका ओलीलाई आफ्नै पक्षका धेरै नेताले पदाधिकारी दाबी गरेपछि व्यवस्थापन गर्न कठिन भइरहेको छ। महाधिवेशन सुरु हुनुअघि बसेको सचिवालय बैठकबाट विधान संशोधन नगर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया