×

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन ,सबै ध्वस्त भयो, बाह्य कारण हो कि आन्तरिक कारण हो भन्ने प्रश्नको निराकरण गर्नुपर्छ (यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना)

images

काठमाडौं, । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अब पार्टीको अभिभावक भएर बस्ने अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (आइतबार) जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई अब नेतृत्वको जिम्मा आफूहरुलाई दिन आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले ओली दुई पटक गरेर ११ वर्ष पार्टीको अध्यक्ष भइसकेको र पटक–पटक गरेर ६ वर्ष प्रधानमन्त्री बनिसकेको भन्दै अब गर्न बाँकी केही पनि नरहेको बताए । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

उनले अहिले आम परिस्थितिलाई बुझेर ओलीले अभिभावक भएर बस्दा राम्रो हुने बताए । पोखरेलले ओलीलाई आफ्नो अवधारणा पढ्न सुझाउँदै साथ र समर्थनको अपेक्षा रहेको बताए । जारी एमालेको महाधिवेशनका नेतृत्वको लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । पोखरेलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यता एमाले संस्थापन समूहले पनि ओलीलाई तेस्रो पटक अध्यक्षमा उठ्न दवाब सिर्जना गरिराखेका छन् ।

बैठकमा पोखरेलले एघारौँ महाधिवेशनको हलमा हुँदै गर्दा गत भदौ २०-२२ मा पास गरिएको विधानलाई संशोधन गरिएकोबारे पनि प्रश्न उठाएका छन्। यस्तै जे-नजी आन्दोलन र आन्दोलनबाट पार्टी नेतृत्वमाथि उठेको प्रश्नको निराकरण गर्नुपर्ने पनि उनले बताए ।

‘सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो भन्ने प्रश्नको निराकरण गर्नुपर्छ। हामीले सबै राम्रै राम्रो गरौँ भन्दा भन्दै असफल भयौँ। किन ? हामीसँग राज्य संयन्त्र थियो, के राज्य संयन्त्र निकम्मा हो वा हामीबाट कमजोरी भयो ?’, उनले भने, ‘कमजोरी भयो भन्नेतिर ध्यान दिनुपर्छ, हामीमा पर्याप्त कमजोरी थिए ।’

उनले महाधिवेशनका लागि आफूले एउटा अवधारणापत्र पेश गरेको पनि बताए । ‘त्यो अवधारणा पत्र प्रतिनिधिहरूले पाउनुहुनेछ । हाम्रो नीति र विधिमा समस्या छैन, हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्वीकार्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीले थुप्रै ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको छ । यसलाई अभिछिन्न क्रान्तिकारी बाटोतर्फ लाग्न आजकै कार्यशैलीले सम्भव हुँदैन । हामी नीति र विधान अनुसार हिँड्नुपर्छ।’ उनले पार्टी नेतृत्व नीति र विधानअनुसार नचलेकोले त्यसको समीक्षा गर्नुपर्ने बताए ।

साथै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो ।

त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २५१ बाट बढाएर ३०१ जनाको बनाइएको छ ।

यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना :

१) पदाधिकारी   (१९)जना

–अध्यक्ष  : १

–उपाध्यक्ष : ५

–महासचिव : १

–उपमहासचिव : ३

–सचिव – ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना

–खुला :  ५

–महिला : ३

–युवा : १

३)  खुला कोटा (१२५ ) जना

–खुला : ७१

–महिला : ५२

–युवा : २

४) जनजाति  आदिवासी  ( २५) जना

–आदिवासी–जनजाति :

–खुला : १५

–महिला : ८

–युवा : २

५) मधेशी (२०) जना

–मधेशी :

–खुला : ११

–महिला : ६

–युवा : २

६) प्रवास (२) जना

–भारत : १

–अन्य देश : १

७) श्रमिक (३) जना

–खुला : २

–महिला : १

८) अपाङ्गता भएका व्यक्ति (१) जना

– खुला : १

९) दलित   (१२) जना

–खुला : ७

–महिला : ४

–युवा : १

१०) थारु  (८) जना

–खुला : ५

–महिला : ३

११) मुस्लिम  (५) जना

–खुला : ४

–महिला : १

१२) थारु  (८) जना

–खुला : ५

–महिला : ३

१३) पिछडिएको क्षेत्र  (२) जना

–खुला : १

–महिला : १

आइतबार​ २९ मंसिर २०८२ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया