×

सुप्रिम सहकारी ठगी प्रकरण- रुपन्देहीमा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी

images

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ। सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका रा सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको हो।

लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षा गरिएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पु¥याइदै छ ।

वयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि माथीबाटै आदेश छ भन्दै रुपन्देही प्रहरी आज घेरा हाली उनलाई आउ जाउ गरेको थियो । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेका थिए। हिजो अधुरो रहेका विषयहरू सम्भवतः आजै सकिने जिल्ला सरकार वकिलको कार्यलय रुपन्देही न्याधिवक्ता प्रेमराज पौडेलले बताए ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा सूर्यदर्शनसँगै सुप्रिम सहकारीबाट ठूलो रकम लगेको आरोप छ। जिल्ला न्यायाधिवक्ता पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । 

बिहीबार २९ कात्तिक २०८१ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया