×

ट्रम्प लक्षित आक्रमणको भनिएको भिडियो सञ्चारमाध्यममा भाइरल, भिडियोबारे स्वतन्त्ररूपमा पुष्टि हुन बाँकी

images

बटलर, अमेरिका, ३० असार (रासस/एएफपी) :अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टीएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ । 

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी ¥यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो । अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुक्स रहेको जनाएको छ ।भिडियोमा कथित आक्रमणकारी छतमा  सुतेर ट्रम्पतर्फ  राइफल लक्षित गरेको देखिन्छ । 

“केटाको लामो खैरो कपाल छ, र उसले खैरो सर्ट÷खाकी पाइन्ट लगाएको देखिन्छ र उसले ‘ट्रिगर’ तान्नुअघि टाढाबाट ध्यानपूर्वक लक्ष्य पत्ता लगाउने प्रयास गरिरहेको देख्न सकिन्छ,” टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ । प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर बन्दूक चलेपछि अफ–क्यामेराबाट मानिसहरू बोलेको आवाज सुनिन्छ । 

“ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू”, एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ ।
  “कसैलाई गोली लागेको छ”, अर्को व्यक्तिको आवाज सुनियो, “ऊ त्यहीँ ढलिरहेको छ ।” “साथी, ट्रम्प सही ठाउँमा छन्,” अर्को व्यक्तिले भनेको सुनिन्छ । 

“त्यहाँ ‘सेक्रेट सर्भिस’ छ, कुनै पनि गडबडी नगरौँ,” भिडियोमा अर्का व्यक्तिले भनेको सुनिन्छ । टिएमजेडले प्रकाशित गरेको दोस्रो भिडियोमा उही छत र धुमिल शरीरको फुटेज देखाइएको छ ।

“तपाईँले त्यहाँ ती व्यक्तिलाई देख्न सक्नुहुन्छ । मलाई लाग्छ उनीहरूले त्यो व्यक्तीलाई गोली प्रहार गरे किनभने ऊ मृत देखिन्छ”, अफ–क्यामेराभन्दा टाढाबाट एकजना व्यक्तिले भनिरहेका थिए । एक टिकटक प्रयोगकर्ताले पोष्ट गरेको भिडियोमा धेरै पटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ । 

सार्वजनिक भिडियोलाईस्वतन्त्ररूपमा पुष्टि गर्न सकिएको छैन । भिडियोमा लुकेर बसेका तारो हान्ने व्यक्ति (स्नाइपर) ले बन्धुक चलाए वा चलाएनन् भन्ने स्पष्ट छैन । ट्रम्पलक्षित आक्रमणपछि उहाँ लेक्टर्नको पछाडि लुक्नुभएको थियो  भने सिक्रेट सर्भिसका अधिकारीहरूले उहाँलाई घेरेर सुरक्षा दिएका थिए । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । ट्रम्प खतरामुक्त्त रहेको उहाँ निकट श्रोतले बताएको छ । 

आइतबार​ ३० असार २०८१ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया