लन्डन । योर्गन क्लोपको लिभरपुलले अन्ततः सोमबार राहत महसुस गर्न पायो । कोडी गाक्पोले क्लबका लागि गरेको पहिलो गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई २–० ले हरायो र यससँगै क्लबमा फेरि आत्मविश्वास फर्केको छ । अब लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्नेछ ।
मर्सिसाइड डर्बीमा प्राप्त जितसँगै लिभरपुलले लिगमा चार खेलको जितहीन यात्रामा पनि पूर्ण विराम लगाएको छ । एभरटन भने सन् १९९९ यता एनफिल्डमा जितविहीन रहेको छ । लिभरपुलले नवौं मिनेटमा मोहमद सलाहको गोलले अग्रता लिएको थियो र यो बक्सिङ–डेयता उनको पहिलो गोल पनि रह्यो ।
गाक्पो भने जनवरीमै मात्र पीएसभी आयनहोभनबाट लिभरपुल आएका थिए र खराव लयका कारण आफै दबाबमा थिए । यो जितका बावजुत लिरभपुल शीर्ष चारको स्थानबाट अझै नौ अंक पछाडि छ । उसको ३२ अंक भएको छ र नवौं स्थानमा उक्लेको छ । एभरटन भने १८ अंकमा पुछारबाट तेस्रो स्थानमा छ । स्पेनी ला लिगा र इटालीको सिरी ए मा पनि सोमबार एक एक खेल भए ।
त्यस अनुसार रियल सोसिडाडले इस्पनयोललाई ३–२ ले हरायो । इन्टर मिलानले भने साम्पडोरियासँग निराशाजनक गोलरहित बराबरी खेल्यो । यो नतिजाले नेपोलीले लिग उपाधि जित्ने सम्भावना अझ बढेको छ । नेपोलीको ५९ अंक छ र शीर्ष स्थानमा छ । दोस्रो स्थानका इन्टर भने ४४ अंकमा रहेको छ ।
प्रतिक्रिया