×

दोहोरो अंकले घट्यो नेप्से

images

काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ। यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।

मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो । उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । यता लगानी उपसूचक १.०२ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमको गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशतले वृद्धि हुँदा राप्ती हाइड्रपावरको ५.२३ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले वृद्धि भएको छ ।

मङ्गलबार २ फागुन २०७९ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया