काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घरघर, टोलटोल, व्यक्ति व्यक्तिलाई भेट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार कीर्तिपुरमा उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आत्मसमीक्षा सहित जनताको घरघरमा, टोलटोलमा र व्यक्तिव्यक्तिलाई भेटेर भोट माग्न निर्देशन दिए ।
जनताका घरघरमा पुगेर भेटेर उनीहरुका कुरा सुन्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम गर्नुपर्ने प्रचण्डको भनाइ छ । ‘ठूला सभा र समारोह गरेर भोट नआउने बताउँदै प्रचण्डले भने, ‘घरघरमा जानुस् टोलटोलमा जानुस् र आत्मसमीक्षासहित जानुस् ।’
‘हामी जनताको मुक्तिको लागि नयाँ आन्दोलन सुरु गर्न चाहन्छौँ । हामी आफै बदलिन चाहन्छौँ’, उनले भने, प्रत्येक जनताको घरघर, टोलटोल र व्यक्ति व्यक्तिलाई भेट्न जरुरी छ । त्यसरीमात्र हामीले चुनावी परिणाम हासिल गर्न सक्छौं । आत्माआलोचनासहित प्रत्येक व्यक्तिलाई भेट्न सबैलाई अपिल गर्दछु ।’
अन्याय र अत्याचारको विरुद्ध विद्रोहको प्रतीकको रुपमा कीर्तिपुर स्थापित भएको भन्दै प्रचण्डले विकास र प्रगतिको अभियान कीर्तिपुरबाट सुरु गर्ने बताए । त्यसका लागि पार्टी हेडक्वाटरबाट कुनै कसर बाँकी नराख्ने आश्वासन प्रचण्डले दिए ।
कार्यक्रममा कीर्तिपुरको मेयर उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले कीर्तिपुरको विकास र जनताको सेवाका लागि सम्पूर्णरुपमा समर्पित हुने बताए ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई अघि सारेका छन् । सफाइ अभियानकर्मी राजमान मानवले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ ।
कार्यक्रममा उनले माओवादीले सत्तामा बसेर सकारात्मक काम गरेको छ भन्ने जनताले बुझेको जिकिर गरे । साथै नयाँ सरकार किन बन्यो भन्ने कुरा पनि सबैलाई थाह भइसकेको प्रचण्डले बताए ।
प्रतिक्रिया