काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) ८.०१ अंकले बढेको छ। आजको वृद्धिसँगै नेप्से परिसूचक २,०४३.४१ को विन्दुमा पुगेर रोकिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजारमा ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
आज बजारमा कूल २४८ कम्पनीको ९८ लाख ४५ हजार कित्ता सेयर ५४ हजारभन्दा बढी पटक किनबेच भयो। आज कारोबार भएका १३ उपसमूहमध्ये अधिकांशमा हरियाली छाएको छ। विशेष गरी बैंकिङ, विकास बैंक, र जलविद्युत उपसमूहको सूचक सकारात्मक रहँदा समग्र बजारलाई माथि उठाउन मद्दत पुगेको छ। यद्यपि, उत्पादनमूलक र होटल उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।
आजको कारोबारमा दुईवटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट र नेपाल टेलिकमको भएको छ। बजार विश्लेषकहरूका अनुसार आगामी मौद्रिक नीतिको समीक्षा र बैंकहरूको ब्याजदर घट्ने संकेतका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थाबाट बिस्तारै खरिद गर्नेतर्फ आकर्षित हुन थालेका छन्।
प्रतिक्रिया