×

कानुन छैन, समाजले पनि मान्दैन !

images

काठमाडौं । रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थालेको तीन वर्ष भयो । प्रेमी–प्रेमिकाबाट दम्पती बनेर सँगै जीवन बिताउने सपना साँचेको यो जोडीलाई न परिवार र समाजले इजाजत दिन्छ न त कानुनी मान्यता पाउने कुनै आधार नै बनेको छ ।

पारिवारिक तथा कानुनी झमेलाबाट उत्पन्न हुने परिस्थितिले कतिबेला सम्बन्धमा दरार उत्पन्न हुने हो भन्ने चिन्ताले दुवैको दैनिकी बित्ने गरेको छ । सामाजिक बहिष्करण र आफ्नै परिवारबाट लैङ्गिक तथा जातीय विभेदमा परेको यो जोडी दैनिक कुनै न कुनै प्रकारले यौनहिंसा भोग्न बाध्य छ ।

दलित समुदायकी स्वस्तिका क्षेत्री समुदायका चन्द्रसिंह कार्कीमाथि लैङ्गिक विभेद मात्र हैन जातीय विभेदका कारण परिवारले घर प्रवेशमा नै रोक लगाएको छ । सर्लाहीकी सम्झना विक र काठमाडौँ चाबहिलकी जेसिका गौतमको सम्बन्ध पनि प्रेमी–प्रेमिका नै हो ।

तर चार वर्ष पहिले चिनजान भई सँगै बस्दै आएको यो जोडीलाई परिवारले अलग गर्ने अनेक प्रयास ग(यो । सम्झनालाई उनको परिवारले जेसिकाबाट छुटाएर सर्लाही लग्यो तर उनीहरू टाढा हुन नसकेर एक हप्तामा नै काठमाडौँ फर्किए ।

एकअर्काबाट छुट्नै नसक्ने सम्झना र जेसिकाको प्रेम देखेर दुवैको परिवारले सम्बन्ध स्वीकार गर्ने सङ्केतसम्म गरेको सम्झना बताउन्छन् । परिवारले सम्बन्ध स्वीकार गरे पनि कानुनले मान्यता कहिले दिन्छ यकिन गर्न मुस्किल छ । २० वर्षदेखि लिभिङ टुगेदरमा रहेकी लक्ष्मी घलान जोडीको कथा पनि उस्तै हो । सँगै बसेर जीवन त बित्ला तर पति–पत्नीका रूपमा परिवारबाट पाउनुपर्ने मान्यता र कानुनी रूपमा पैतृक सम्पत्तिमाथिको हकदाबी गर्न यो जोडी विमुख छ ।

यसबाहेक परिवारमा आइपर्ने उतारचढावका कारण यी दुईको सम्बन्धमा दरार उत्पन्न भए कहाँ जाने र के गर्ने भन्ने अन्योल छ । लक्ष्मी घलान भन्छिन्, ‘‘महिला र पुरुषको सम्बन्धलाई कानुनले मान्यता दिएको छ । त्यसो भए हामीजस्ता लाखौँ सङ्ख्यामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी) समुदायको अधिकार खोइ त ?”

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि परिवार, समाज र कानुनले विभेद गरेका यी केही प्रतिनिधिमूलक घटना हुन् । परिवारको अपहेलना, सामाजिक बहिष्करण र सार्वजनिक जीवनमा यो समुदायका व्यक्तिले भोग्दै आएका समस्या कहाली लाग्दो छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको पक्षमा वकालत, पैरवी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको मितिनी नेपालका अनुसार महिला र पुरुषबीचको सम्बन्धलाई मात्र कानुनी मान्यता रहेका कारण तेस्रो लिङ्गी समुदाय परिवार र समाजबाट बहिष्करणमा परेको छ ।

मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीका अनुसार तेस्रो लिङ्गी समुदायले आफूले जन्मघरबाट नै विभेदको सिकार बन्नुपरेका कारण अधिकांशले घर छाडेर हिँड्नुपर्ने र कतिपयले आफ्नो वास्तविकता लुकाएर हिँड्नुपर्ने बाध्यता रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

सोमबार २९ फागुन २०७९ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया