×

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो पार्टीबाट ५ वर्ष निस्कासन

images

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको बताएका हुन् । 

गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए । आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

तर चितवन-३, चितवन-१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निस्कासन गरेको हो । 

बुधबार २६ असोज २०७९ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया