काठमाडौं । श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक/एक गोल गरिन् । खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् । नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३-० को दिलाइन् ।
पहिलो हाफको इन्ज्युरी समयमा दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको थियो । खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन् । अमिसाले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० गोलको जित दिलाइन् ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।
प्रतिक्रिया