×

पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक याेजना केही दिनमै सार्वजनिक गर्छु : मन्त्री श्रेष्ठ

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । 

आज सोमवार काठमाण्डाैमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड' मा नाम लेखाउन सफल होटललाई शुभकामना एवम् आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले कीर्तिमान बनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सोलुखुम्बुको गोरखसेप एभरेस्ट बेस क्याम्प नजिकको गाउँ 'एभरेस्ट इन प्राइभेट लिमिटेड' विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ । यो होटल पाँच हजार एक सय ८० मिटर उचाइमा रहेकाे छ । 'वर्ल्ड बुक्स रेकर्ड लन्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा 'एभरेस्ट इन प्राइभेट लिमिटेड' ले आधिकारिक प्रमाणपत्र पाएको छ । 

मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताउनुभयो ।

यसअघि सन् २००४ मा 'होटल एभरेस्ट भ्यु' (तीन हजार आठ सय ८० मिटरको उचाइ) लाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रूपमा गिनिज बुकमा दर्ता गरिएको थियो । यो होटल सन् १९७१ मा खोलिएको थियो ।

मङ्गलबार २८ असार २०७९ ०२:१४ PM मा प्रकाशित

प्रतिक्रिया