×

मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन

images

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले पोखरामा प्रदर्शन गरेको छ। उनीहरूले पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।

गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड बजेट विनियोजन गरेपछि विरोध भइरहेको छ। यस्ता योजना ल्याउनेमा मुख्यमन्त्री पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्।

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो।

यस्तै, मुख्यमन्त्री पोखरेलकै बुवाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ। सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्।

उनका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण-धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुवाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ।

मुख्यमन्त्री र मन्त्रीले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन बजेट विनियोजन गरेपछि चर्को आलोचना भइरहेको छ।

मङ्गलबार २८ असार २०७९ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया