×

बाटो निर्माणपछि किसानलाई सहज

images

खलङ्गा : जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको  सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएपछि उनीहरूमा खुसी छाएको छ । दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी जयबहादुर रोकायाले बताउनुभयो । 

बाटो निर्माणपछि पशुचौपायदेखि स्थानीयवासीले उत्पादन गरेको स्याउ, सिमी र तरकारी बजारसम्म लैजान सहज भएको वडाध्यक्ष कलिबहादुर रावतले बताउनुभयो । लिहीबाट लर्मीगाउँसम्म १० हजार ५० मिटर ग्रामीण बाटो निर्माण भएको उहाँको भनाइ थियो  ।  

कृषि उपजलाई बजारसम्म पु¥याउन समस्या भएकाले सोे बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले बताउनुभयो । बाटो निर्माण भएपश्चत् लिही र लर्मीगाउँका नागरिकलाई आवतजावतमा  सहज भएको हो ।  बाटोको समस्याले गर्दा मानिस मर्दा मलामी जान, विवाहमा जन्ती जान र अस्पतालसम्म बिरामीलाई स्टेचरमा राखेर लैजान समस्या भएकाले  स्थानीयवासीको गुनासोपछि गैरसरकारी संस्था पेस नेपाल जुम्लाको सहकार्यमा सो बाटो निर्माण गरिएको वडाध्यक्ष  रावतले जानकारी दिनुभयो । 

गाउँमा उत्पादन भएका स्याउ, सिमी, आलु र फापरलगायत रैथाने बाली बाटोकै समस्याले किसानले बिक्री गर्न पाएका थिएनन् । भारी बोकेर हिँड्ने बाटो नहुँदा लर्मीगाउँका किसानले उत्पादन गरेको बाली उचित मूल्यमा बिक्री नगरी थन्कयाउनुपर्ने बाध्यता थियो । अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानले स्थानीय उपज बिक्री गर्न ल्याउन सहज भएको अर्का स्थानीयवासी कर्ण रावतले बताउनुभयो । 

बाटो फराकिलो भएपछि दुई गाउँका बासिन्दालाई  आवतजावत गर्न र गाउँमा उत्पादन भएका कृषि वस्तुको बजारीकरणमा सजिलो भएको वडाका स्याउ किसान बताउँछन् । अनुकूलन कोष, वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपाल जुम्ला शाखाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाअन्तर्गत सो ग्रामीण बाटो निर्माण गरिएको उक्त शाखाले जनाएको छ । उक्त बाटो निर्माणपछि लिहीगाउँका २४८ र लर्मीगाउँका ९० घरधुरीलाई सहज भएको बताइएको छ ।
–––

शनिबार २९ माघ २०७८ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया