काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन्। सोमबार साँझ विराटनगर स्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विधुत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने जानकारी दिए। उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे।
उद्योगहरूमा लाइन जोड्न सरकारले दिएको निर्देशन कुलमानले आनाकानी गरेकोबारे प्रधानमन्त्रीलाई सञ्चारकर्मीले विद्युत लाइन आज पनि जोडिएन नि? भन्ने प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जोडिएन हैन? ठिक छ त्यो हेर्दै जानुपर्छ। तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन।’
प्रधानमन्त्रीले पनि ‘देश बिगार्न र टाट पल्टाउन नदिने’ बताएर सरकारी योजनाबारे संकेत गरेका हुन्। सरकारले २४ घण्टाभित्र सबै उद्योगमा लाइन जोड्ने निर्देशन प्राधिकरणलाई दिएसँगै सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले ध्यानाकर्षण गराएका थिए।
अर्को प्रसंगमा प्रधानमन्त्रीले सरकार बाहिर रहँदा माओवादीले सधैं गर्ने भनेकै आन्दोलन भएको पनि बताए। ‘सरकारमा नभएपछि उहाँहरू यस्तै हो,’ उनले भने, ‘अबको १ वर्ष ८ महिनापछि म हट्छु। त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ। उहाँले चुनाव गराउनुहुन्छ। चुनावको नतिजा जे आउँछ, त्यही अनुसार हुन्छ।’
प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिना पछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे।
उनले प्रदेशले अधिकार माग्ने भन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे। फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपिपी सम्झौता बारे कुनै कुरै नभएको स्पष्ट पार्दै यसका विषयमा माओवादीले लगाएको आरोप सरकारबाट हट्नु परेको छटपटी मात्र भएको टिप्पणी गरे।
प्रतिक्रिया