×

सुभद्रा विश्वराज स्रष्टा सम्मान तथा रमेश–गङ्गा स्रष्टा सम्मान अर्पण कार्यक्रम सम्पन्न

images

रेडियो प्रस्तोता मधु पाठकको कुशल उद्घोषणमा हिजो २०७९ फागुन २६ गते, शुक्रवार नेपाल स्रष्टा समाजले "सुभद्रा विश्वराज स्रष्टा सम्मान" तथा "रमेश–गङ्गा स्रष्टा सम्मान" अर्पण कार्यक्रम सम्पन्न गरेको खबर छ ।  यस कार्यक्रमका प्रमुख अतिथि रमेशचन्द्र देवकोटाले सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि श्रीहरि फुयाँललाई र रमेश–गङ्गा स्रष्टा सम्मानबाट हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई सम्मानपत्र अर्पण गर्नुभएको थियो भने नगद राशि पुरस्कारका संस्थापकहरू क्रमश: विधान आचार्य र डा. दिनेशचन्द्र देवकोटाले समर्पण गर्नुभएको थियो।  दुवै पुरस्कारको राशि रु २१,१११।- रहेको छ।    

             
सम्मानित दुई व्यक्तित्व फुयाँल र लुइँटेलको परिचयका साथ समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत भाषण प्रस्तुत गर्नु भएको थियो भने पुरस्कृत दुवैले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। मन्तव्यमा दुवै स्रष्टा प्रत्येकले आफूले प्राप्त गरेको पुरस्कार रकममा केही थप गरेर साहित्यिक पुरस्कारको स्थापना गर्ने प्रतिवद्धतालाई उपस्थित सबैले ताली बजाएर स्वागत गरे। 

कार्यक्रमका प्रमुख अतिथि रमेशचन्द्र देवकोटाको ९० औँ जन्मदिनको अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँद्वारा लिखित शिखरिणी छन्दको एउटा कविता  सन्जय देवकोटाले वाचन गरी सुनाएका थिए भने सम्मान कार्यक्रमको समाप्तिपछि उहाँको जन्मदिन सुकुन्दामा बत्ती बाली केक काटेर भव्य तरीकाले मनाइएको पनि थियो।  

नेपाल स्रष्टा समाजले स्रष्टाहरूलाई अहिले नयाँ आजीवन सदस्य बनाउँदै आइरहेको छ। ती नै नयाँ बनेका सदस्यहरूलाई कार्यक्रममा सदस्यताको प्रमाणपत्रका साथ ब्याज (badge) वितरण पनि गरेको थियो।  

नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेलको सभापतित्वमा सम्पन्न 'स्रष्टा सम्मान कार्यक्रम'मा उहाँले स्रष्टा समाज १६ वर्ष पुगेको र वर्षेनी ७ वटा सम्मान पुरस्कार समर्पण गर्ने गरेको कुरा व्यक्त गर्नुभयो।

शनिबार २७ फागुन २०७९ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया