काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
आज (बुधबार) सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने, पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए । उनले प्रतिस्पर्धामा जाँदै गर्दा पनि परिणामलाई लिएर नभाग्ने प्रष्ट पारे ।
उनले जित्दा मात्रै खुसी हुने नभएर जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्ने बताए । यसअघि पार्टी छाड्का माधव नेपाल, भीम रावललगायतको नाम लिँदै उनले आफ्नो हकका उनीहरुको जस्तो दृष्टान्त लागू नहुने बताए ।
‘हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं,’– उनले भने । आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा एमालेको ११औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा नेतृत्वको लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले बयान दिन जानुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा सम्पादकसहितका सञ्चारकर्मीहरूसँगको अन्तरसंवादका क्रममा एमालेको एघारौँ महाधिवेशनमा अध्यषका दाबेदार पोखरेलले आफू ओलीको ठाउँमा भए आयोगले बोलाउनुअघि बयान दिन जाने बताए ।
सरकारले बनाएको छानबिन आयोगसँग असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न त्यहाँ जानु स्वाभाविक र आवश्यक हुने पनि उनले बताए । ‘आयोगसँग हाम्रा कतिपय कुरामा रिजर्भेसन हुन सक्छ, तर बोलाउनु स्वाभाविक हो । म भए अझै अगाडि गएर बयान दिन्थेँ । अवज्ञा गर्नु ठीक हुँदैन,’ पोखरेलले भने ।
आयोगले तय गरेको ढाँचाअनुसार ओलीले नजाने निर्णय गर्नु राम्रो नहुने पनि पोखरेलले बताएका छन् । ‘आयोगको अध्यक्ष जसलाई बनाइयो, उनीमाथि कतिपय प्रश्न उठेका छन् । तर भदौ २३ र २४ गतेको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिका आधारमा आयोग बनाइएको छ’, उनले भने, ’गठन पहिले नै धारणा बनाइसकेका व्यक्ति अध्यक्ष हुँदा निष्पक्षता कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्न पनि छ। तर सरकारले बनाएको आयोगमा आफ्ना भनाइ राख्न पनि जानुपर्छ।’
पोखरेलले बयान दिन जानुको अर्थ आफ्ना विचार राख्नु र तथ्य प्रस्तुत गर्नु पनि हुने बताए । ‘हाम्रो अध्यक्ष पनि बयान दिन जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उनले स्पष्ट शब्दमा भने ।
कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताए ।
उनले भण्डारीको पार्टी सदस्यतालाई यति ठूलो एजेन्डाको रूपमा उठाउन पर्ने विषय नै नरहेको उल्लेख गरे । उनले भने, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाइ के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तर्राष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ ?’
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको बताए । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भए पनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उल्लेख गरे ।
प्रतिक्रिया