×

काठमाडौं–६ का संघ र प्रदेशका उम्मेदवार जिताउन वाम–लोकतान्त्रिक गठबन्धनको अपिल

images

काठमाडौं । आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भीमसेनदास प्रधानले राजनीतिक स्थायित्व र परिवर्तनको रक्षाका लागि पनि आफूहरुले नेतृत्व गरेको गठबन्धनले जित्ने विश्वास दिलाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा सत्ता गठबन्धनलाई बलियो बनाउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिमा आफूहरुले ठूला–ठूला आन्दोलन गरेको स्मरण गराउँदै अब मुलुकको समृद्धिको लागि भूमिका खेल्ने बेला आएको स्पष्ट पारे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा ०४६ सालमा कांग्रेस र कम्युनिष्टहरुबीच कार्यगत एकता भएको उल्लेख गर्दै अहिले पनि संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलीय गठबन्धन बनेको र यो लामो समयसम्म जाने दाबी गरे ।

प्रधानले नेपालको समृद्धिको लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन अवस्थामा सरकारको नेतृत्व गर्दा दुई/दुई पटक संसद् विघटन गरेको र संसद् पूनस्थापनाको लागि आफूहरु एकजुट भएको उनको भनाई छ ।

उनले भने,‘जनताले नेकपालाई त्यत्रो बहुमत दिए, प्रचण्डले त आधा कार्यकालको प्रधानमन्त्री पनि केपी ओलीलाई छोड्नुभयो । तर, उहाँले दुई दुई पटक संसद् विघटन गर्नुभयो । संविधानमै हामीले संसद् विघटन गर्न पाउँदैन भनेर लेखेका थियौं ।’ उनले पार्टीभित्र फरक विचार राखेकै कारण ओलीले भीम रावललाई एकल सिफारिश हुँदापनि यो निर्वाचनको लागि टिकट नदिएको भन्दै एमालेभित्रको आन्तरिक प्रजातन्त्रबारे प्रश्न उठाए ।

उनले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा रहेको कुरा उल्लेख गर्दै बहुदलीय व्यवस्थामा स्वतन्त्रले जितेर के भूमिका खेल्ने हो ? भन्दै प्रश्न उठाए । उनले निर्वाचपछि बन्ने सरकारले देश र जनताको लागि राम्रो काम गर्नुपर्ने धारणा राखे । उनले भने,‘हामीसँग सही नेतृत्व छ । मुलुकको विकास हुन्छ ।’

काठमाडौं–६ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन सो क्षेत्रका गठबन्धनका स्थानीय नेताहरुले अपिल गरेका छन् । उनीहरुले काठमाडौंमा सत्ता गठबन्धनलाई मजबुद बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट इमानदारितापूर्वक भूमिका खेल्न आग्रह गरेका छन् ।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले काठमाडौं–६ मा लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन अपिल गरे । निर्वाचन परिचालन कमिटी पनि वडा तहसम्म संयुक्त रुपमा गठन भएको सुनाउँदै अब निर्वाचनमा भारी मतले गठबन्धनका उम्मेदवारहरु विजयी हुने बताए ।

गठबन्धनका दलहरुको आ–आफ्नो स्कुलिङ र नीति भएकोले अहिले साझा उद्देश्य केन्द्रजस्तै ६ नम्बरमा पनि रहेको उनको भनाई छ। उनले मुलुकमा प्रतिगमनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेको र अग्रगमनको नेतृत्व भने आफूहरुको गठबन्धनले गरेको सुनाए । उनले भने,‘हाम्रो मन मिलेको छ । मनलाई अब मतमा परिणत गर्नुपर्छ ।’ उनले काठमाडौं–६ मा ५ हजार ५ सय ५ जनाको निर्वाचन परिचालन समिति गठन गरेको पनि जनाए ।

त्यस्तै, कार्यक्रममा जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले पनि गठबन्धन सही उद्देश्य बोकेर जन्मिएको भन्दै देशव्यापी रुपमा गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरे । उनले देशमा ठूला–ठूला आन्दोलनपनि सबैको संयुक्त मोर्चाबाट नै सफल भएको स्मरण गराए । उनले अहिलेको गठबन्धनले जिते देशले जित्ने बताए ।

उनले भने,‘गठबन्धन आवश्यकत्ताले बनेको हो । अहिलेपनि परिवर्तन उल्टाउनको लागि प्रतिगामीहरु जुर्मुराएका छन् । एमालेले प्रतिगमनको बाटो लियो । उसले संसद् देख्नै सकेन । लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि पनि यो गठबन्धनले जित्छ, र जिताउनुपर्छ । हाम्रो विजय सुनिश्चित् छ । हामी एकजुट भएर अघि बढ्न आवश्यक छ । शंका र उपशंका गर्नुहुन्न ।’

यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता सानुभाइ मालुङले मंसिर ४ को चुनावको परिणाम आफूहरुको पक्षमा आउने दाबी गरे । उनले भने,‘परिणाम हाम्रो पक्षमा आएपछि अहिलेको उद्देश्य पूरा हुनेछ । हाम्रो विचार फरक छन् । तर उद्देश्य एउटा नै छ । हामी गठबन्धनका उम्मेदवार विजयी बनाउनेछौं ।’

सो अवसरमा सो क्षेत्रका प्रतिनिधिसभाका साझा उम्मेदवार प्रधानसहित प्रदेशसभाका दुवै उम्मेदवार क्रमशः हरिप्रभा खड्गी (श्रेष्ठ) र विष्णुभक्त तिमिल्सिना पनि उपस्थित् थिए ।

यस्तो छ गठबन्धनको तर्फबाट जारी विज्ञप्ती

प्रिय पत्रकार मित्रहरु,

देशभर वाम लोकतान्त्रिक गठबन्धन गझबुद हुँदै गइरहेको यहाँहरुलाई अवगत नै छ । संविधानविरोधी शक्तिलाई परास्थ गरी गठबन्धनलाई थप मझबुद बनाउने उद्देश्यका साथ शीर्ष नेतृत्वले दिनरात पहल गरिनै रहेको छ । काठमाडौं क्षेत्र नम्बर–६ मा पनि सुरुदेखि नै पाँच दलीय गठबन्धनको साझा प्रयासमा उम्मेदवार तय गर्न प्रयास भएकै हो । फरकफरक पृष्ठभूमि र सबै दलको प्रभावशाली नेतृत्व रहेको रहेको काठमाडौं–६ मा सबै दलको दाबी रहनु स्वभाविक नै हो ।

तर, केन्द्रीय नेतृत्वले संघीय सांसद्मा भीमसेनदाश प्रदानलाई सर्वसम्मत गराउन सके पनि प्रदेशमा भने माओवादी केन्द्र र कांग्रेस दुबैको उम्मेदवारी पर्यो । एकीकृत समाजवादीले भने गठबन्धनलाई सघाउन मात्र तयार भएन कि कांग्रेस र माओवादीलाई मिलाउन भूमिका खेल्यो । यद्दपि केन्द्रीय नेतृत्वले सर्कुलर नै जारी गरी केही समय अघि आधिकारीक उम्मेद्वार सार्वजनिक गर्दै संघ र प्रदेश ’क’ मा कांग्रेसको उम्मेदवार रहने र ख प्रदेशमा भने नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फुयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख गरेको यहाँहरुलाई अवगत नै छ ।

तर, फेरि गठबन्धनलाई मझबुद बनाउनकै लागि शीर्ष नेतृत्व र स्थानीय नेताहरुबीचको वारम्बारको छलफलपछि मित्रवत प्रतिष्पर्धाले संविधान विरोधी शक्तिलाई फाइदा हुन नदिन सिंगो क्षेत्रमा नै गठबन्धन कायम रहने गरी माओवादी केन्द्रका उम्मेदवार कमरेड प्रकाश फुयालको उम्मेदवारी पार्टीले निष्क्रिय पारेको व्यहोरा पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । यससँगै काठमाडौं क्षेत्रनम्मर ६ मा गठबन्धनका आधिकारिक उम्मेद्वार प्रतिनिधिसभातर्फ भीमसेदाश प्रदान र प्रदेशतर्फ ’क’ मा हरीप्रभा खड्गी र ’ख’ मा विष्णुभक्त तिनिल्सिना रहेको पनि यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।

स्थानीय नेतृत्वकै प्रयासमा शीर्ष नेतृत्वले उम्मेदवारी निस्क्रिय पारेका कारण स्थानीय स्तरमा गठबन्धन एकजुट हुनेमा कुनै आशंका रहेन । अहिले नेतृत्वमा मन मिलेको छ, अब मंसिर ४ मा सबै कार्यकर्ता एकजुट भइ मत मिलाइ गठबन्धन विरोधी शक्तिलाई परास्थ गर्न पनि संपूर्ण दलका नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछौं ।

श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस
लक्षुमण विडारी, नेकपा (माओवादी केन्द्र)
सानुभाइ मालुङ, नेकपा (एकीकृत समाजवादी)
जगतप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा



 

 
बिहीबार २४ कात्तिक २०७९ १०:३८ PM मा प्रकाशित

प्रतिक्रिया