×

हरिवंशको पुष्पिकावाक्य लगायतका कुरा: प्रमाण होइनन्

images

धर्मसंकट भनौं वा द्विविधा यी दुवै शव्दको आसय उस्तैउस्तै जस्तो लाग्छ । किनभने नपत्याऊँ भने एउटा विश्वास कमाइ सकेको गणक एवं इतिहासकारले भनेको कुरा प¥यो । पत्याऊँ भने एउटा सामान्य दिमाग भएको मान्छेले समेत उनको ती कुरा पत्याउनका लागि लायक छैनन् । त्यति मात्र हो र स्वयं आफुहरू त्यसलाई प्रमाण भनेर अघि सार्दैरहने गरेको तर आफैले नै ती कथित प्रमाणको पालना नगर्ने भएपछि त्यसतो कुरालाई प्रमाण मान्नुको औचित्य के ? दुनियाँलाई त्यत्तिकै बेवकूफ बनाउन त भएन नि ।
 प्रमाण भनिएका कुरा यी हुन् ।

जस्तैः १.हरिवंशको पुष्पिका बाक्य, २.भोटको स सक्य पान चेनको बाक्य, ३.सुमतितन्त्रमा पछिपछि थपिएका वाक्य, ४.सुमतिन्त्रको मूल वाक्य । यी चारैवटा कालान्तरमा लेखिएका त्रुटिपूर्ण सामग्री मात्रै हुन् । त्यसमाथि फगत यसलाई प्रमाण भनेर अघिसार्ने गरिएका छन् । जब प्रमाण भनेर अघिसारे पछि त्यसलाई स्वयंले आत्मसात् गरेको पनि हुनुपर्ने  तर आफैले त्यसलाई प्रमाणको रुपमा प्रयोग गरेको नपाइनु साँच्चै आपत्तिजनक  भन्नुपर्दछ । त्यसकारण न त ती सामग्री उपयोगी सिद्ध हुन सकेका छन् न त प्रमाण भन्नेले नै प्रयोग गरेका छन् । झट्ट हेर्दा मान्छेले के के न प्रमाण अघिसार्यो है भन्ने जस्तो लाग्न गयो । आरिखमा केही पनि होइन रहेछ भन्ने कुरा बौद्धिक जगतको अगाडि खाली लज्जास्पद मात्रै बन्न पुगेको  छ ।

पहिलो कुरा यी चारैवटा लिच्छविकालका तात्कालिक स्रोत होइनन् । यस कुरामा अलिकति पनि हेक्का राख्न नसक्नु भनेको दूर्भाग्य हो भन्न सकिन्छ । किनभने लिच्छविकालमा चलेको संवत्को बारेमा निर्णय गर्न १३ औ शताव्दीको  ससक्य पानचेन वाक्य र १७ औं शताव्दीको हरिवंशको पुष्पिकावाक्य लगायत चारवटा कुरालाई प्रमाण मानेर सहारा लिनु बुद्धिमानी ठहर्दैन । दोस्रो कुरा प्रमाण मानेपछि आफैले त्यसको इन्कार गरेको देखिनु मान्छेलाई झुक्याउनु, ढाँट्नु मात्रै ठहर्छ ।  यही कुरा अहिलेसम्म जनमानसले फिटिक्कै बुझ्न सकेको जस्तो देखिएको छैन । अतः यही कुरा सहजै बोध होस् भनेर यो लेख मार्फत खुलासा प्रस्तुत गर्नुपरेको हो । 

१ हरिवंशको पुष्पिका बाक्य
इति श्रीमहाभारते शतसाहस्या«ं वैयाशिक्यां संहितायां खिलेषु हरिवंशे पारिजातहरिवंशःसमाप्तःसंपूण्र्णः ।। ०० ।। संवत् नेपालिकः ७७५ जैष्टमासे शुक्लपक्षे पूण्र्णमास्यां तिथौ शुक्रवासरे थ्व कु रामानन्देन लिखितं संपूण्र्ण दिनं ।। शुक्ल योगे शुभमस्तु।। ज्येष्ठनक्षत्रे ।।  ।।  ।।
अथ ।। श्रीकलिराजवर्ष ४७५६ ।।....अथ ।। श्रीविक्रमाव्द ।। १७१२ ।। अथ शकरराजवर्ष ।। १५७७ ।।.....अथ श्रीमानदेवराजवर्ष ।। १०७९ ।। ........अथ ।। स्वस्ति श्रीमतनेपालिक ।। श्रेयास्तु ।। सम्वत् ।। ७७५ ।।

                                                                                                                                                                                                                                                                                (लिच्छविसंवत्को निर्णय पृष्ठ ४)
 

हाम्रा बुढापाकाहरूले बारम्वार भन्ने गरेको देख्छौं कि आँऽ गर्नासाथ अलंकार बुझ्छु । यो के भनेको होला खूब विचार गर्थें । अहिले यो पुष्पिका वाक्य देख्ना साथ आँऽ गर्नासाथ अलंकार बुझ्छु भनेको याद आउंछ । किनभने यसमा शक संवत् १५७७ दिइएको साथै मानदेवसंवत् १०७९ र नेपालसंवत् ७७५ पनि दिइएको छ । यो  साधारण सोचविचार भन्दा बाहिरको कुरा हुन् । यो कुरा अरु साधारण मान्छेले पत्यायो भन्दा आश्चर्य मान्नु परोइन । तर खुद गणकले यो कुरा किन पत्यायो त्यो पो आश्चर्य हो त ।

यस पुष्पिकामा महिना तिथि पनि स्पष्ट खुलाइएका छन् । त्यो भनेको ज्येष्ठ शुक्ल पूर्णिमा शुक्रवार हो । गणकले यस्तो पनि भन्दै आएका छन् ।

वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको थियो भन्ने कुराका प्रमाण नेपालमा र भोटमा गरी जम्मा ४ वटा पाइएका छन् ।

ती चारवटा भनिएको मध्ये यही हरिवंशको पुष्पिकावाक्य एउटा हो । जसले यसलाई प्रमाण मान्यो उ स्वयंले नै त्यसको उपेक्षा गर्छ भने त्यसलाई प्रमाण मान्नुको के औचित्य भन्ने प्रश्न उठ्छ । दुनियाँलाई त्यत्तिकै बेवकूफ बनाउन त हुंदैन । फेरि दुनियाँ सँधै बेबकूफ त भइरहँदैन भनेर बुझनु पर्ने हो ।

गणकले संवत् ३१ को अंशुवर्माको चाँगुको अभिलेखको गणना गर्दा यो शक ५२९ को कार्तिक देखि शक ५३० को असोज सम्म रहन्छ भनेर चैत्र पछिको मितिमा शकसंवत् र कथित मानदेवसंवत्मा ४९९ फरक देखाउने गरेको छ । त्यस्तै संवत् ३०१ को सहोत्तर तन्त्रको मितिको गणना गर्दा पनि शकसंवत् र कथित मानदेवसंवत्मा ४९९ फरक देखाउने गरेको छ । कथित मानदेवसंवत् ३०१ वैशाखको शक ८०० वैशाख मानेर ४९९ फरक देखाएर गणना जुन देखाइयो ,यसलाई दृष्टान्तको रुपमा यहाँ लिन सकिन्छ । यहाँ हरिवंशको पुष्पिकामा महिना तिथि ज्येष्ठ शुक्ल पूर्णिमा दिइएकोमा शक १५७७ र मानदेवसंवत् १०७९ बीचको अन्तर ४९८ मात्र देखाइए तापनि यसलाई प्रमाण मानियो किन ? प्रश्न उठ्छ  भने यसलाई प्रमाण मानेर दुनियाँलाई बेवकूफ बनाउनुको साथै आफनो कुटील कुरा पनि आफैले प्रकट गरेको भएन र ? आश्चर्य यसैमा छ । 

अर्को कुरा शक ८०० को वैशाखसम्म कथित मानदेवसंवत् ३०१ भइरहेको देखाउने पनि आफै त्यही मानदेवसंवत् ३०४ पुगी सक्दा शक चाहीं कति हुनुपर्ने रहेछ त्यो कुरा भने गणकलाई फिटिक्कै ज्ञान छैन भने त्यो गणक कस्तो गणक हो । हामीले भनीरहनै पर्दैन दुनियाँले मूल्यांकन गर्नसक्ने कुरा हो । किनकि शक ८०१ कार्तिकशुक्ल प्रतिपदामा नेपालसंवत् आरम्भ भएको थियो भन्ने कुरा थाहा नहुने दुनियाँ छ जस्तो लाग्दैन । यही हरिवंशको पुष्पिकावाक्यमा नेपालसंवत् ७७५ दिइएको छ भने मानदेवसंवत् १०७९ दिइएको मतलव यी बीच ३०४ को अन्तर देखाइएको छ , जुन कपोलकल्पित हो । तव यसलाई चारवटा प्रमाण मध्येको एउटा भनेर मान्नुको औचित्य छैन भन्ने छर्लङ्ग हुने कुरा दुनियाँले बुझ्छ तर गणकले बुझ्दैन भने त्यो गणकको पो कमजोरी हो , अरुको होइन । 

हरिवंशको पुष्पिकावाक्यमा भएको मिति ः “संवत् नेपालिकः ७७५ जैष्टमासे शुक्लपक्षे पूण्र्णमास्यां तिथौ शुक्रवासरे” को तारिख गणना यसप्रकार छ ।  

ने.सं ७७५+८०२=लिसं १५७७, यो शक १५७५ कार्तिक देखि १५७६ आश्वीन तक  रहन्छ ।  । जेष्ठ महिना भएकोले शक १५७६ हुन्छ । इष्ट इश्वीसन् १५७६+ ७८ = १६५४ ।(साधारण वर्ष)
तिथिगणचैत्र १, वैशाख२ +जेष्ठ शुक्ल पूर्णिमा १५ ।  ३०ह्२+१५=७५दिन ।७५—२२= ५३ दिन 

परिणामः— ने.सं ७७५ ज्येष्ठ शुक्ल पूर्णिमा इसं १६५४ जून २ तारिख शनिवार आयो । तद्नुसार वि.सं १७११ जेठ १६ गते शनिवार पर्न आउंछ । पुष्पिकामा ज्येष्ठ शुक्ल पूणर््िामा शुक्रवार भनेर दिइएको छ  यसको मतलव पूर्णिमाको लाग्दो तिथि लिइएको कारण शुक्रवार दिइएको हुनुपर्छ भने पूर्ण तिथि पूर्णिमा चाहीं इश्वीसनको मिति तारिख १६५४ जून २ तारिख शनिवार पर्ने निश्चित छ । यहाँ गणना गर्दा शक १५७६ मा अधिमास छ तर भाद्रमा परेको हुंदा यहाँ  जेष्ठ महिना भएकोले त्यतिवेलासम्म अधिमास पनि लिनु परेन र इस्वी १६५४ लाई ४ ले भाग गर्दा निःशेष नभएकोले यो प्लुटवर्ष( लीपयर वर्ष) पनि भएन । 

पुष्पिका र तारिख गणना बीचको तुलना 
पुष्पिकामा कलिगत ४७५६ विक्रमसंवत् १७१२ लिच्छविसंवत् १५७७ लाई नै शक मानिएको  र मानदेवसंवत् १०७९ भनी दिइएको छ । नेपालसंवत् ७७५ ज्येष्ठ शुक्ल पूर्णिमा दिइएको छ । वास्तविक शकसंवत् १५७६ हो यसमा ३१८० जोडियो भने कलिगत ४७५६ आउनु पर्छ । पुष्पिकामा त्यही दिइएको हुनाले दिइएको कलिगत चाहीं मिलेको छ । बिक्रमसंवत ल्याउन शकसंवतमा १३५ जोडे पछि आउने हो । वास्तविक शकसंवत् १५७६ भएकोले यसमा १३५ जोड गर्दा वि.सं १७११ आउनु पर्छ तर पुष्पिकामा १७१२ भनेर दिइयो यो मिल्दैन । त्यस्तै नेपालसंवत्मा ८०२ जोडे पछि लिच्छविसंवत् हुनेमा यसलाई शकरसंवत् १५७७ भनेर लेखियो त्यो शकसंवत् होइन  । यो १५७७ र नेसं ७७५ बीच ८०२ को अन्तर स्पष्ट छ । अतः शक भनेर १५७७ मा १३५ जोडेर बनेको वि.सं १७१२ स्वतः मिथ्या सिद्ध छ । शक र मानदेवसंवत्को अन्तर १५७६—१०७९=४९७ देखिन आएको, बिक्रम र मानदेवसंवतको अन्तर १७११—१०७९=६३२ मात्र देखिन आएको हुनाले हरिवंशको पुष्पिकामा  शकसंवत्, विक्रमसंवत् र मानदेवसंवत् भनेर जसरी दिइए ती सवै  कपोलकल्पित अंकहरू हुन् । 

यसरी कपोलकल्पित अंक दिइएको स्रोतलाई कसैले प्रमाण भनेर मान्छन् भने त्यसलाई कुनै बुद्धिमानी  मानिंदैन । किनभने शक ८०० को वैशाखसम्म ३०१ भइरहेको कथित मानदेव संवत् शक ८०१ कार्तिक भित्रै ३०४ बितीसकेको कदापि हुंदैन । त्यही कथित मानदेवसंवत् ३०१ वैशाख भनेको शक ८०० वैशाख भन्न ३०१ मा ४९९ नजोडीकन संभव नै छैन ताकि यहाँ पुष्पिकावाक्यमा जेठ शुक्ल पूर्णिमाको मितिमा मानदेवसंवत् १०७९ दिइए पछि त्यसमा ४९९ जोड्दा त  शक १५७८ लेखिएको हुनुपर्ने शकसंवत् भन्दा २ वर्ष जेठो लिच्छविसंवत् १५७७ लाई नै शकरसंवत् भनिए तर मानदेव संवत् ३०४ हुनलाई शक १५७८ भएपछि मात्र संभव हुने कुरा गणक भनाउंदाहरूको दिमागमा घामलाग्न नसक्नु भनेको आश्चर्यको कुरो हो ।

२ भोटका स —सक्य —पान चेनको बाक्य

लिच्छविकालमा मानदेवको पालाको अभिलेखमा एक थरिसंवत् देख्ने गरेको र अंशुवर्मा देखि अर्को नयाँ संवत् चलेको जस्तो देख्ने गरेको हुनाले अंशुवर्मा पश्चाद् देखि नै अनेकौं मतमतान्तरको विकास हुन थालेको हो । यसरी त्यसवेला देखि त्रुटिपूर्ण अडकलहरू हुन थालको हुनाले पान चेनको वाक्य यसैको निरन्तरता मात्र हो । यसरी ७ औं शताव्दीदेखि मतमतान्तर हुन थालेको कुरा १३ औं शताव्दीसम्म पनि जारी रहनु कुनै अनौठो कुरा होइन । किनभने आज २१ औं शताव्दीसम्म आएर त अंशुवर्माले नयाँ संवत् चलाए भन्दै हिंडछन् भने १३ औं शताव्दीमा त्यो भ्रम जारी रहनु कुनै आश्चर्य मान्नु पर्ने होइन । चाहे तिव्वतको स्रोतमा  उल्लेख भएको होउन् चाहे अमेरिकाको स्रोतमा उल्लेख भएको होउन् ,अडकलको भरमा लेखिएको कुरा प्रमाण ठहरिने होइन त्यसको कुनै अर्थ लाग्ने पनि होइन । 

नेपालमा अंशुवर्माले नयाँ संवत् चलाए भन्दै आउनेहरु संवत् ५३५ को काठमाडौं ज्यावहालको अभिलेख भेटिएको देखेर अहिले सम्म पनि त्यो अंशुवर्माको अभिलेख हुंदै होइन भन्दै आइ रहेका छन् । आजभन्दा ३४ वर्ष अघि गोकर्ण बालुवा गाउमा संवत् ५३६ को अंशुवर्मा कै अभिलेख भेटिएका थिए भने २ वर्ष अघि फेरि अंशुवर्मा कै अभिलेख संवत् ५३६ को अर्को अभिलेख पाटन मंगलवजारमा ढल खन्ने क्रममा  भेटी सक्दा  पनि अंशुवर्माले नयाँ संवत् चलाएको भन्दै त्यो जिद छोडेका छैनन् । त्यसैले भोटको स सक्य पान चेनको वाक्यमा लेखिंदा कुनै अंतरयामीले लेखेको त बिल्कूलै होइन । नेपालमा यो मान्यता राख्नेहरु भएर नेपाल कै मान्छेले दिएको सूचनाको आधारमा लेखिएका हुन् भन्ने स्पष्ट हुन्छ । त्यसैले अंशुवर्माले नयाँ संवत् चलाएको भनी रहंदा संवत् ५३५ को अभिलेख अंशुवर्माको होइन भने जस्तै संवत् ५३६ को अभिलेखहरु पनि अंशुवर्माका होइनन् भनी सिद्ध गर्न सक्ने हिम्मत गणकका पक्षधरहरूले किन गर्न सकेनन् प्रश्न उठ्छ । जवसम्म संवत् ५३६ को अभिलेख अंशुवर्माका होइनन् भनी सिद्ध गर्न सक्दैन तवसम्म भोटको ससक्य पान चेनको वाक्य पनि प्रमाण ठहरिन सक्दैन भन्ने छर्लङ्गै हुन्छ ।     

३.सुमतितन्त्रमा पछिपछि थपिएका वाक्य

सुमतितन्त्रको प्रशंसा गर्दागर्दा नथाक्नेहरुले त्यसमा पछिपछि थपिएका वाक्य पनि प्रमाण भन्दै हत्ते हाल्दै आएका छन् । उनीहरुको नजरमा ती पछिपछि थपिएका वाक्यहरु थपुवा होइन मूलमा भएकै कारणले छुटेको प्रसंग पुनः थपेको हो र त्यो थपेको वाक्य पनि मौलिक नै हुन् भन्दै हाँ मा हाँ मिलाई सही थाप्दै आएको पनि देख्दै सुन्दै आएको कुरा हुन् । यसमा थपुवा सपुवा भनी रहनु भन्दा शत प्रतिशित मौलिक नै ठहरियोस् केही आपत्ति होइन । जव त्यो थपिएको वाक्यमा ३०४ वर्ष मानदेव संवत् चलेको भन्ने कुरा त्यसमा चर्चेको कारणले नै सुमतितन्त्रका प्रशंसकहरु त्यसलाई समाउनमा लागी परेका हुन् , त्यसमा कुनै विवाद नै छैन । यदि ती प्रशंसकहरूमा शक ८०० को वैशाख सम्म ३०१ भएको मानदेवसंवत् शक ८०१ को काार्तिकमा आएर त्यो मानदेवसंवत् ३०४ भुक्त भइसक्छ भनेर सिद्ध गर्न सक्ने सामथ्र्य किन भएन ? अहं प्रश्न त यो हो । त्यसकारण प्रशंसकहरुले नेपालसंवत् आरम्भ हुनु भन्दा अघि ३०४ वर्ष मानदेवसंवत् भुक्त भएको हिसाव जहिलेसम्म जनमानसमा ल्याउन सक्दैन तवसम्म सुमतितन्त्रमा पछि थपेको होस् या मूल मै भएको होस् त्यसको केही अर्थ छैन । मान्छेलाई बेवकूफ बनाउने उद्योग चलाइ रहेकाहरुले  बेवकूफ बनाइ रहेका हुन्छन् र बेवकूफ बन्नेहरु बनीरहेका हुन्छन् भन्ने बाहेक यहाँ अरु भन्नु छैन । 

४. सुमतिन्त्रको मूल वाक्य

जातो दुर्योधनो राजा कलि ..........प्रवत्र्तते। युधिष्ठिरो महाराजो दुर्योधनस्तयोःपि वा । उभौ 
राजौ सहस्रे द्वे वर्षन्तु समप्रवत्र्तति । नन्दराज्यं शताष्टञ्च श्चन्द्रगुप्तस्ततोपरे राज्यङ्करोति 
तेनापि द्वात्रिंशच्चाधिकं शतम् । राजा शूद्रकदेवश्च वर्ष सप्ताब्धि चाश्विनौ शक राजा ततो 
पश्चाद्वसुरन्ध्रकृतन्तथा । इत्येते ....षिम्मह्यं ज्ञेया राजा क्रमेण तु ।।

 

दुर्योधन राजा भएपछि कलियुग लाग्ने छ । राजा युधिष्ठिर र राजा दुर्योधनको संवत्
२०००वर्षसम्म चल्नेछ । त्यसपछि ८०० वर्षसम्म राजा नन्दको संवत् चल्नेछ । त्यसपछि
१३२ वर्षसम्म चन्द्रगुप्तको संवत् चल्नेछ । त्यसपछि २४७ वर्षसम्म राजा शूद्रकदेव संवत् 
चल्नेछ । त्यसपछि ४९८ वर्षसम्म शक राजाको संवत् चल्नेछ । राजाहरुका यी संवत् 
क्रमैसंग बताइए ।                                                                                                                                   (लिच्छविसंवत्को निर्णय पृष्ठ १ र २)
 

सुमतितन्त्रको मूलवाक्यलाई प्रमाण मान्नेहरु र सुमतितन्त्रको मुक्तकण्ठले प्रशंसा गर्ने प्रशंसकहरुले समग्रमा त्यस ग्रन्थभित्र अरु के के विषयवस्तुहरु छन् त्यसको कुनै लेखाजोखा गरेको देखिएको छैन । केवल माथिको मूलवाक्य जे हो त्यसलाई मात्रै सुमतितन्त्रको आदर्श वाक्य मान्दै आएको देखिन्छ । त्यसमा विक्रमसंवत् कहिलेसम्म चल्ने छ भनेर दिइएको वाक्याँश छैन भन्ने स्पष्टै छ । तथापि वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको थियो भन्ने कुरा सुमतितन्त्रमा छ भन्दै भ्रम  छर्दै आइयो किन ? यो साँच्चै आश्चर्य र ताज्जुव लाग्दो कुरा हो ।

अव कुरो आउंछ , शक ४९८ मा १३५ जोडे पछि वि.सं ६३३ आउने त हो नि भन्न सक्छ । फेरि १३५ जोड्ने कुरा छैन नि भन्यो भने वि.सं २०३५ सालमा शक १९०० भए पछि त्यस बीचको अन्तर १३५ हुने त हो नि भन्न सक्छ । नभन्दै  लिच्छविसंवत्को निर्णयको पृष्ठ २ मा यही कुराको जिकीर पाइन्छ । यहाँ मुख्य अहं प्रश्न भनेको  वि.सं ६३३ को कुरा पनि होइन र १३५ जोड्ने कुरा पनि होइन यहाँ मुख्य बूझपचाइको विषय भनेको शकसंवत् कार्तिकादि हो कि चैत्रादि हो त्यो कुरा नढाँटिकन भन्नु पर्ने कुरामा छ ।

लिच्छविकालमा चलेको संवत् शकसंवत् हो भन्ने पनि आफै र लिच्छविकालमा चलेको संवत् कार्तिकादि नै हो भन्ने पनि आफै छ । यसमा कुरा फेर्न पाइन्न । तर यसैमा बूझपचाइ भइरहेको छ । किनभने विक्रमसंवत् त चैत्रादि नै मानेको छ । मतलव संवत् ३१ भनेको ६३३ जोड्दा वि.सं ६६४ हुन्छ र संवत् ३०१ भनेको ६३३ जोडेर वि.सं ९३४ भनेर पनि गणना खण्डमा बताइएकै छ । तव संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिक देखि ६६५को असोज सम्म रहने र संवत् ३०१ भनेको वि.सं ९३४ को कार्तिक देखि ९३५ को असोजसम्म रहन्छ भनेर त्यही गणना खण्डमा दिइएकै छ । तव यसो भन्दा  के आपत्ति भयो त भन्न पनि सक्ला ।  हो यसो भन्दैगर्दासम्म पनि आपत्ति होइन र वि.सं ६६४ र ६६५ मा १३५ घटाएर शक ५२९ र शक ५३० भन्नु र वि.सं ९३४ र ९३५ मा १३५ घटाएर शक ७९९ र शक ८०० हुन्छ भनुञ्जेल सम्म पनि आपत्ति होइन । तर आपत्ति यही कि पहिलो त संवत् ३१ भनेको शक ५२९ को कार्तिक देखि शक ५३० को असोजसम्म रहने र संवत् ३०१ भनेको शक ७९९ को कार्तिक देखि शक ८०० को असोज सम्म रहन्छ जुन भन्ने गरियो त्यो चाहीं आपत्ति हो । दोस्रो लिच्छविकालमा चलेको संवत् शकसंवत् हो र त्यो संवत् कार्तिकादि नै हो  भन्ने जुन गरियो त्यो आपत्ति हो ।  तव त्यहाँ गणनामा शकसंवत् कार्तिकादि ठहराएको खोइ ? कार्तिकादि शक कार्तिकमा ५२९ हुने वैशाखमा ५३० हुन्छ भन्नु र कार्तिकमा ७९९ भएको शक वैशाखमा ८०० हुन्छ भनेर जुन गणना गर्नेले शकसंवत् कार्तिकादि भनेर जुन ढाँटियो त्यो सरासर बेइमानी हो । त्यसकारण मूलपाठमा शक ४९८ सम्म चल्ने भनिएको कुरा समातेर त्यत्रो बेइमानी गर्ने छूट सुमतितन्त्रमा छैन । प्रशंसकहरु पनि यसरी अन्धाधुन्ध ढंगले सुमतितन्त्रको प्रशंसा गर्दै बेइमानी कुरालाई बढावा दिंदै आउनु पनि कम्ता दोषी भन्न मिल्दैन ।

   निष्कर्ष
हरेक विषयको सही र गलत छुट्याउने मानक भनेको पद प्रतिष्ठा पाएको हैसियतलाई हेरेर गर्ने होइन । यहाँ त प्रायः यसतै हुंदै आइरहेको छ । तसर्थ मुख्य समस्या नै यही तड्कारो रुपमा देखिंदै आएको छ । वास्तवमा सिद्धान्त के थियो ? त्यो सिद्धान्तले समस्या निम्त्याउंने गर्छ कि गर्दैन ? मान्दै आइरहेको सिद्धान्तले यदि काम गरेको देखिएन भने अर्को सिद्धान्त अपनाउनुपर्ने खण्ड आउँछ । कहीं पनि मेरो गोरुको बाह्रै तक्का चल्दैन । इमान्दार पूर्वक लेखाजोखा गर्ने हो भने न्यूनतम विन्दुमा सिद्धान्त के हो ? अपनाइएको सिद्धान्त बमोजिम अघि बढेको छ छैन त्यतिमात्र बिचार पु¥याइ दिएको भए पनि बेइमानीको त्यो तहमा ओर्लनु पर्ने थिएन । जे होस् प्रमाण भनेर अघिसारेका सबै कुरा प्रमाण होइनन् भन्ने र खुद प्रमाण मान्नेहरुले नै ती प्रमाण मानेर अपनाइएको नभए पछि त्यहीबाटै त्यसको औचित्य समाप्त भैसकेको कुरा स्पष्ट खुलासा भइरहेकै छ ।
“नजानेर विष खाने र ख्वाउनेहरू भन्दा जानाजानी खाने र ख्वाउनेहरू बढी डरलाग्दो हुन्छ ।”


    


    

 

 

आइतबार​ २७ फागुन २०८० ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया