×

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो , जनयुद्धको उपलब्धी सकाउने छुट कसैलाई छैन-विप्लव

images

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धलाई विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धलाई छिन्नभिन्न पार्ने र लक्ष्यबाट विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने उनको चेतावनी दिएका हुन् ।

दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए । जनयुद्धको उपलब्धी सकाउने छुट कसैलाई पनि नभएको उनको भनाई छ  । ‘जसले परिवर्तनको लडाई लड्यो त्यो शक्तिलाई छिन्नभिन्न पार्ने सोच्नु, निशस्त्र पार्ने सोच्नु या त्यसलाई आफ्नो मुख्य लक्ष्यबाट विचलित पार्ने सोच्नु भनेको देशलाई संकटमा धकेल्नु हो । धकेलिन्छ । नेपालमा हामीले कुनै अनुमानको कुरा गरेको होइन । तथ्यबाट हामीले लगातार भनेका छौं, जनयुद्धले नयाँ सत्ता विकास गर्यो ।

नयाँ व्यवस्था निर्माण गरेको थियो । नयाँ कानुन निर्माण गरेको थियो । नयाँ सेना निर्माण गरेको थियो । नयाँ राज्यको अवधारणालाई अगाडि ल्याएको थियो । त्यसलाई बदल्न दिइएन । यहाँ षड्यन्त्र भयो,’– उनले भने ।

साथै, अहिलेको संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको उनको बुझाइ छ । संसदीय व्यवस्थाको असफलताको असर सिंगो देशले नै चुकाउन परेको उनले बताए । ‘१२, १५ वर्षको अभ्यासमा व्यवहारिक ढंगले संसदीय व्यवस्था असफल भएको छ । दलाल पुँजीवादी व्यवस्था असफल भएको छ ।

त्यसको असफलताको मुल्य केवल संसद्वादी पार्टीहरु र त्यहाँ बस्ने दलालहरुलेमात्रै होइन सिंगै देशले चुकाउनु पर्ने या सारा जनताले चुकाउनु पर्ने दुःखद् परिस्थिति हाम्रा अगाडि छ,’– उनले भने ।

जनताको पक्षमा राज्यलाई रुपान्तरण गर्न नसक्दा त्यसको असर संसद्मा बस्नेले मात्र नभएर सिंगो देशले चुकाउनु परेको उनको दाबी छ । २०६४ देखि अहिलेको समयमा देश भुमरीमा फसिरहेको उनको बुझाई छ । राष्ट्र निर्माणमा लागेर देशलाई विकास र समृद्धिको यात्रातर्फ लैजानुपर्ने बेलामा अहिले कोही पनि मान्छे अहिलेको व्यवस्थाबाट सन्तुष्ट नभएको उनको दाबी छ ।

‘आज हामीले हेरेको छौं, कोही पनि मान्छे आजको प्रणालीबाट, व्यवस्थाबाट र सरकारबाट सन्तुष्ट छैन । यो जुन परिस्थिति नेपालमा बनेको छ । यहाँ के सावित भएको छ भने हामीले यसको समाधान दिनपर्ने बेला आएको छ । यसको नेतृत्व गर्ने बेला आएको छ,’– उनले भने ।

शुक्रबार​ २६ फागुन २०७९ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया