×

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता - नेता खनाल

images

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताउनुभएको छ ।    समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल  भए पनि एकता नहुने स्पष्ट पार्नुभयो । 

 उहाँले भन्नुभयो, “विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।”    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले आफू सधैँ वामगठबन्धन र  कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गर्नुभयो ।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताउनुभयो ।     सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।”

शुक्रबार​ २४ भदौ २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया