×

विशेष अदालतबाट अख्तियार असन्तुष्ट, सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । टंगालस्थित  कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको जनाएको हो । मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ ।

अख्तियारले पत्रकार सम्मेलनमार्फत गत साउनयता फैसला भएका १६४ मुद्दामध्ये  १४३ वटामा सफाइ दिइएको तथ्यांक प्रस्तुत गरेको छ । सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको छ । पुनरावेदन गरिएका मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, घुस/रिसवत, गैरकानूनी सम्पत्ति आर्जन, राजस्व चुहावट, गुणस्तरहीन सामान खरिदलगायतका छन् । ती मुद्दाका प्रतिवादी संख्या २५१ छन् भने ४२ करोड १६ लाख २६ हजार ४६२ रूपैयाँ बिगो छ ।

अख्तियारले बिगो तथा सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा सजाय माग नपुगेको, अनुसन्धान फितलो भएकोलगायतका कारण देखाउँदै विशेष अदालतले सफाइ दिएको बताएको छ ।  अख्तियारले भ्रष्टाचार, घुस रिसवत गैरकानुनी सम्पत्ति आर्जन लगायतका विषयमा विशेष अदालतमा मुद्दा चलाउँछ । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

मङ्गलबार २२ कात्तिक २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया