×

हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं- प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफ्नो दल सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् । आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले सरकारबाट बाहिरिएपछि आफूसामू पार्टी बनाउने अवसर प्राप्त भएको बताए ।

उनले तत्काल सरकार बनाउने वा भत्काउने खेलमा नलाग्ने स्पष्ट पारे ।  उनले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असभ्य भनेर गरेको टिप्पणीको विरोध गरे । उनले आफ्नो नभएर प्रधानमन्त्री ओलीको नै कार्यशैली असभ्य भएको आरोप लगाए । उनले भने, ‘को सभ्य को असभ्य भन्ने कुरा तपाईंहरुले सुनिरहनुभएको छ नि, मैले त प्रतिनिधिसभामा नै भनेको थिएँ यति झुट, बेइमानी अनैतिकता, जालझेलको तरिकाले अपनाउनुभयो नि उहाँले मैले बोलेको के असभ्य भयो र ? उहाँले गर्दा असभ्य नहुने, मैले असभ्य गर्नुभयो उहाँले भन्दा असभ्य हुन्छ र ?’

एमाले र कांग्रेसले सरकार बनाएपछि माओवादी केन्द्र पार्टी निर्माणमा जुटेको उनले बताए ।  ‘हामी सरकार नभइ पार्टी बनाउनेतिर केन्द्रित छौं,’ उनले भने, ‘अहिले माओवादी सरकार बनाउने खेलमा लाग्दैन ।’ उनले अगाडि भने, ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनुभयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन ।’

आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण टिक्न नदिइएको जिकिर दाहालले गरे । दाहालले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको दाबी गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्,’ उनले भने, ‘मैले त अहंकार नगर्नु र जनताकाविरुद्ध नजानु पो भनेको हो । नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन ।’

आइतबार​ २३ भदौ २०८१ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया