काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस एमाले सरकारको बर्खास्तीको माग गर्दै ताजा जनादेशमा जानुपर्ने निष्कर्ष निकालेको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भर्त्सना गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका छन् ।
रास्वपाले भनेको छ-
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ ।
निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।
वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।
नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ । सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ ।
प्रतिक्रिया