जापानका पूर्व प्रधानमन्त्री सिञ्जाे आवेमाथि गोली प्रहार भएको छ ।
नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणकारीले आवेलाई दुई पटक गोली प्रहार गरेका थिए । गोली लागेर ढलेका आवेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।
प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
जापानमा हाते बन्दुक र पेस्तोलमाथि प्रतिबन्ध छ । ६७ वर्षका सिञ्जाे आवे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनुहुन्छ । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी ९ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको छ ।
सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।
प्रतिक्रिया