×

कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल

images

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उहाँले सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गर्नुभयो ।

नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने कांग्रेसको मूल ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”

नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक धु्रवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गर्नुभयो । “विसं २०७४ मा कम्युनिष्टहरु मिलेर कांग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाईको सरकार कम्युनिष्टकै कारण विघटन भयो”, उहाँले भन्नुभयो । 

नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो ।  

आइतबार​ २५ बैशाख २०७९ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया