×

स्वास्थ्यमा कृत्रिम फोक्सो

images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको जानकारी दिए । उनले वायु प्रदूषणको अवस्था हेर्न तथा यसले हामीलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यस्तो फोक्सो जडान गरिएको बताए ।

उनले कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको जानकारी दिँदै यसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्ने बताए। एक महिनामा कृत्रिम फोक्सोको रङ वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले मानव फोक्सोलाई हानि गरिरहेको छ भन्ने देखाउन सहयोग पुग्ने उनको भनाइ छ । उनले उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने बताए । गोरखापत्र दैनिकबाट

शनिबार २५ चैत २०७९ ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया