×

सन्दर्भ- अन्तराष्ट्रिय नारी दिवस– ६७ महिनामा महिला हिंसाका एक लाख घटना  

images

प्रर्मिला कार्की
काठमाडौं ।  डाक्टर श्रीमान पाएपछि महोत्तरी औराहीकी नेहा चौधरीको खुसीको सिमा थिएन । छोरीको भव्य भविश्य देखेर अभिभावक पनि फुरुङ्ग थिए । तर, उनीहरुका खुसी धेरै समय टिक्न  सकेन । जब श्रीमान डा. सुधिर चौधरीले दाइजोको बिषय उठाएर यातना दिन सुरु गरे । 

नेहाका परिवारले विवाहमा ५० लाख रुपैयाँ र २० तोला सुन दिएका थिए डा. सुधिरलाई । तर, उनलाई त्यतिले पुगेन । उनले नेहालाई मानसिक यातना दिन सुरु गरे । दुईबीचको विवाद चुलिँदै गयो । डा. चौधरी अब कुटपिटमा उत्रिए । उनलाई साथ दिइरहेका थिए उनका परिवारले । हौसिएका उनी थप उग्र बन्दै गए । उनले नेहालाई घरबाट निकाले । अलपत्र बनेकी उनी न्याय माग्न अदालतसम्म पुग्नु प¥यो । 

तीजकै संघारमा गत १२ भदौंमा कालिकोट सान्नी त्रिवेणी गापा–१ की २३ वर्षीय गीता जैसी(शाही) श्रीमान दानबहादुर शाहीबाट निर्घात कुटिइन् । नेकपा एमाले जिल्ला कमिटि कालिकोटका पार्टी कार्यालय सचिव रहेका दानबहादुरले घरमा श्रीमति हुँदाहुँदै गीतासँग अवैध सम्वन्ध राखेका थिए । यही क्रममा गीताको गर्भमा बच्चा बस्यो । स्थानीयको दवावपछि उनले गीतासँग जब दोस्रो विवाह गरे, त्यही दिनदेखि उनले यातना दिन सुरु गरे । 

सुरुका केही वर्ष त उनले श्रीमानको कुटपिट चुपचाप सहिन् । भाग्यलाई दोष दिएर आफैलाई सरापिन् । तर, श्रीमानको यातनाले हद नाघ्यो । हुँदाहुँदा श्रीमानले उनलाई घरबाटै निकालि दियो । सहनै नसक्ने अवस्था आएपछि उनी कानूनी उपचारका लागि प्रहरी कार्यालय जान बाध्य हुनु प¥यो । 

गत १६ जेठमा चितवन खैरहनी नपा–१० की ४० बर्षीय सरस्वती शर्मा(परिवर्तित नाम) श्रीमानबाट बलात्कृत मात्रै भइनन्, निर्घात कुटपिटको शिकार पनि भइन् । रक्सिको नशाले लट्ठिएका श्रीमाले उनको गुप्तांग र मलद्धवारमा लौरो घुसारे । गुप्तांग क्षतविक्षत भयो । मलद्धवार फुटेर रगत बग्न थाल्यो । हार गुहारपछि स्थानीयले उनलाई उद्धार त गरे । तर, उनलाई बचाउन सकिएन । घाइते उनलाई उपचारका लागि भरपुर सरकारी अस्पताल लगिएको थियो । अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा  मृत्यू भयो । 

बाँके खजुरा गापा–७ की ४९ बर्षीय सरिता शर्मा(परिवर्तित नाम) गत २५ बैशाखमा माइत जान भे १ च नम्वरको टेम्पो चढिन् । टेम्पोमा उनी एक्लो यात्रु थिइन् । एकान्त पुगेपछि चालकले टेम्पो रोके । खजुराकै  सिमालघारीस्थित सडक किनारमा लगेर बलात्कार गरे । उनलाई धनौली इलाका प्रहरीले घटना स्थलबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । भेरी अस्पताल लगिएका उनको उपचारपछि बल्ल होस खुलेको थियो । 

महिला हिंसासँग सम्वन्धित माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना प्रत्येक बर्ष बढिरहेका छन् । बिशेषगरी घरेलु हिंसाका घटना प्रत्येक बर्ष चुलिँदो अवस्था छ । नेपाल प्रहरीको पछिल्लो ५५ महिनाको तथ्यांक केलाउँदा मुलुकभर महिला हिंसा तथा महिला विरुद्धका अपराध मात्रै एक लाख एक हजार ६ सय ८२ पुगेको देखिन्छ । 

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दिपेन्द्र जिसीले पनि पछिल्ला वर्ष महिला हिंसा तथा महिला विरुद्धका अपराध बढेको बताए । उनले भने,‘महिला हिंसा तथा महिला विरुद्धका अपराध बढेका छन् । बिशेषगरी घरेलु हिंसाका घट्ना अस्वभाविक ढंगले बढेको देखिन्छ । चालू आव सात महिनाको तथ्यांक मात्रै हेर्दा पनि महिला हिंसाका घटना १० हजार ९ सय ८६ पगेको देखिन्छ । जसमध्ये घरेलु हिंसाका घटना मात्रै ८ हजार ६ सय १९ दर्ता भएका छन् ।’

सामाजिक सञ्जालको प्रयोग  अन्धाधुन्द तवरले बढे सँगै यसको दुरुपयोग पनि बढेको छ । समाज अझै चेतनशिल छैन । गाउँघरमा अझै महिलामाथि गर्ने व्यवहार परिवर्तन भएको छैन । यस्ता कारणले महिला हिंसा बढेको सहप्रवक्ता एसएसपी जिसीको भनाई छ । 

उनले भने ‘जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारण महिला हिसां घटना बढेका छन् । अझै पनि महिलामाथि गर्ने व्यवहार परिवर्तन भएको छैन । जसले महिला हिंसा बढाएको देखिन्छ ।’

महिला आयोगमा पनि महिला हिंसाका घटना वर्षमा १६ सय र महिनामा  डेढ सय उजुरी दर्ता हुने गरेको राष्ट्रिय महिला आयोगका प्रवक्ता चमिला भटट्राईले जानकारी दिइन् । चेतनाको कमी र प्रविधिलाई सहि ढङगले प्रयोग गर्न नसक्दा महिला हिंसा बढेको उनको भनाई छ ।  

उनले भनिन् ‘महिला हिंसा बढ्नुमा चेतानाको कमि मुख्य हो । सामाजिक सञ्चाल ‘मिसयूज’ हुँदा पनि हिंसाका घटना बढेको देखिन्छ । प्रविधिलाई सहि ढङगले प्रयोग गर्न सकियो भने पनि हिंसाको घटना कम गर्न सकिन्छ । हामी कहाँ प्रत्येक वर्ष महिला हिसाका १६ सय घटना दर्ता हुने गर्छन् । महिना दिनमा यस्ता घटना झण्डै डेड सयको संख्यामा दर्ता हुन्छन् ।’

प्रवक्ता भट्टराईका अनुसार ५१ प्रतिशत महिलाको पीडालाई आयोगले मात्रै सम्वोधन गर्न सक्दैन । आयोगका कार्यालय ७७ वटै जिल्ला खोलिनु आवश्यक छ । यसो हुँदा मात्रै हिंसामा परेका दुरदराजका महिलाले राहत पाउँन सक्ने प्रवक्ता भट्टराईको भनाई छ । 

उनले भनिन्,‘केन्द्रमा एउटा आयोग छ । यसले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सक्दैन् । त्यसैले प्रदेश स्तरमा र ७७ जिल्लामा नै महिला विकास कार्यलय स्थापना गर्न आवश्यक छ । यो हुन सके मात्रै हिंसामा घट्ना कम भएर जान्छ । एउटा मात्रै महिल आयोगले यत्ति धेरै हिंसाका घटना कसरी हल गर्न सक्छ ?’

बुधबार ११३ औं अन्तराष्ट्रिय नारी दिवस ।  ‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ विश्वभर मनाईदै छ । तर नारीहरुको अधिकार भने नारामा मात्रै सिमित छ । देशको आधाभन्दा बढी जनसंख्या भएका महिलालाई अधिकार र अवसरबाट टाढा राखि चुलोचौकोमा मात्रै सीमित हुँदा बिभिन्न किसिमका घरेलु हिंसामा परीरहेका छन् ।

 वर्षमा एक दिन नारी दिवस मनाएर मात्रै महिलाहरुले पाउँनु पर्ने  हक–अधिकार स्थापित गर्न सकिँदैन् ।
अहिलेको आर्थिक वर्षको तथ्याङ मात्रै हेर्दा पनि १० हजार भन्दा बढि महिला हिंसाका घट्नाहरु दर्ता भईरहेका छन् यसरी महिलाहरु हिंसामा परीरहने हो भने देशले विकासको गति लिन सक्ने अवस्था रहँदैन । 

यो आर्थिक वर्षमा मात्रै १० हजार ९ सय ८६ महिला हिंसाको डाटा तथ्याङकमा रहेको केन्द्रीय प्रहरी प्रवक्ता दिपेन्द« जि.सि ले जानकारी दिए ।
उनका अनुसार महिला हिंसामा दर्ता भएको तथ्याङ्कमा पनि बढि मात्रामा घरेलु हिंसामा परेका महिलाहरुको घट्ना धेरै उजुरी हुने गरेको पाईन्छ । 
कुन बर्ष कति महिला हिंसा ?
आव                हिंसा 
०७४–७५            १५,२३४
०७५–७६            १९,३०४
०७६–७७            १५,७५६
०७७–७८            १८,९५१
०७८–७९            २१,४५१
०७९–८० माघसम्म    १०,९८६
जम्मा                १,०१,६८२


मधेस प्रदेशमा धेरै महिला हिंसा 
प्रहरीको पछिल्ला ६७ महिनाको तथ्यांक अनुसार महिला हिंसाको सबैभन्दा धेरै घटना मधेस प्रदेशमा भएका छन् । ६७ महिलामा मधेस प्रदेशमा मात्रै महिला हिंसा तथा महिला विरुद्धका अपराध २५ हजार दुई सय ३४ घटना भएका छन् । त्यसपछि सबैभन्दा धेरै हिंसा काठमाडौं उपत्यकाभित्र भएका छन् । उक्त अवधिमा  उपत्यका भित्र १७ हजार सात सय ९६ हिंसाका घटना भए भने लुम्बिनी प्रदेशमा १६ हजार दुई सय ५९ हिंसाका घटना भए ।
त्यस्तै, बाग्मती प्रदेशमा उक्त अवधिमा महिला हिसाका १० हजार तीन सय ९४ घटना भए । कोशी प्रदेशमा महिला हिंसाका १० हजार ८८ घटना भए । गण्डकी प्रदेशमा ८ जहार पाँच सय ८५, सुदुर पश्चिम प्रदेशमा सात हजार एक सय २९ र कर्णाली प्रदेशमा ६ हजार दुई सय सात हिंसाका घटना भए ।

कुन प्रदेशमा कति हिंसा ?
उपत्यका         १७,७९६
कोशी            १०,०८८
मधेस            २५,२३४
बाग्मती        १०,३९४
गण्डकी        ८,५८५
लुम्बिनी        १६,२५९
कर्णाली        ६,२०७
सुदुरपश्चिम        ७,१२९
जम्मा            १,०१,६८२

बुधबार २४ फागुन २०७९ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया