×

नेप्सेमा दोहोरो अंकको गिरावट

images

काठमाडौं । सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

यस दिन २४६ स्टकको २० हजार ३१ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ८६ रुपैयाँ ५३ पैसा घटेर ७७९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६७ करोड २ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन शिवम् सिमेन्ट्सको १३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको साढे ४ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार २१ मंसिर २०७९ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया