काठमाडौँ, २२ भदौ । सन् २०२३ मा भारतको उत्तराखण्डस्थित प्रसिद्ध सिल्क्यरा सुरुङ दुर्घटनामा फसेका ४१ जना मजदुरको सफलतापूर्वक उद्धार गरेर विश्वभर चर्चा कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्स यतिबेला नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्शमा खटिएका छन्।
रसुवाको भोटेकोशी र त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका कामदारहरूको खोजीमा संलग्न अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले नेपालको वर्तमान परिस्थितिलाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै प्रा. डिक्सले भनेका छन्, "नेपालमा अहिले हामीले जुन परिस्थितिको सामना गरिरहेका छौँ, त्यस्तो मैले आफ्नो जीवनमा यसअघि कहिल्यै भोगेको थिइनँ। यहाँ एउटा मात्र सुरुङ वा एउटा मात्र उद्धारको कुरा छैन, बरु फरक-फरक स्थानमा एकैपटक धेरै वटा जटिल उद्धार कार्यहरू भइरहेका छन्, जहाँ धेरै मानिसहरूको जीवन जोडिएको छ।"
सिल्क्यरा सुरुङ र नेपालको भूगोल बीचको भिन्नता
यसअघि भारतको सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका मजदुरहरूलाई बाहिर निकाल्न खटिएका डिक्सले उक्त घटना र नेपालको अहिलेको विपद्बीच ठूलो भिन्नता रहेको औँल्याएका छन्। सिल्क्यरामा ४१ जना मजदुर एउटै सुरुङभित्र थुनिएका थिए र उद्धार टोलीको सम्पूर्ण ध्यान, शक्ति र प्रविधि एउटै बिन्दुमा केन्द्रित थियो।
त्यो आफैँमा असम्भवप्रायः कार्य भए पनि सामूहिक प्रयासले सफल भएको थियो। तर नेपालको हकमा भने भोटेकोशी र त्रिशूली कोरिडोरका चिलिमे, माथिल्लो त्रिशूली-१ लगायत दर्जनौँ जलविद्युत् आयोजनाका विभिन्न सुरुङहरू बाढीको लेदो, हिलो र विशाल चट्टानहरूले पुरिएका छन्। एकै समयमा धेरै ठाउँमा मानिसहरू फसेको आशङ्का रहेकाले उद्धार टोलीले एकैपटक धेरै मोर्चामा लड्नु परिरहेको उनको भनाइ छ।
पूर्वीय दर्शनको 'धर्म' र उद्धारको सिद्धान्त
प्रा. डिक्सले आफ्नो सन्देशमा पश्चिमी परम्पराको 'कर्तव्य' (Duty) र एसियाली दर्शनको 'धर्म' (Dharma) को अवधारणालाई नेपालको वर्तमान परिस्थितिसँग जोडेका छन्। उनले लेखेका छन्, "हाम्रो वास्तविक परीक्षा हामी यस अभियानमा सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन। बाटो जतिसुकै कठिन हुँदै जाँदा, जिम्मेवारीहरू थपिँदै जाँदा र परिणाम के हुन्छ भन्ने थाहा नभएको अवस्थामा पनि हामी निरन्तर सही काममा लागिरहन्छौँ कि रहँदैनौँ भन्नेमा हाम्रो धर्म लुकेको हुन्छ।"
उनले सिल्क्यराको उद्धारले आफूलाई 'न्यून सम्भावना' र 'असम्भव' बीचको फरक सिकाएको भए पनि नेपालको भू-बनोट र वर्तमान सङ्कटले भने आशालाई अनुशासनमा, करुणालाई कार्यमा र कर्तव्यलाई सफलताको निश्चितताभन्दा माथि राख्नुपर्ने पाठ सिकाएको उल्लेख गरेका छन्।
'हावाका सुरक्षित पकेट' र जीवितै उद्धारको आशा
बाढी आएको १० दिनपछि त्रिशूली-३ 'ए' जलविद्युत् आयोजनाको जलमग्न सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धार टोलीको मनोबल बढेको छ। प्रा. डिक्सले अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई दिएको प्राविधिक परामर्श र सुझावका आधारमा उक्त चमत्कारिक उद्धार सम्भव भएको थियो।
अहिले नेपाल आइपुगेका डिक्स आफैँ चिलिमे लगायतका आयोजनाका सुरुङहरूमा स्थलगत रूपमा खटिएका छन्। बाढी र हिलोले संरचनाहरू पूर्ण रूपमा पुरिए पनि सुरुङका भित्री भागहरूमा हावाका सुरक्षित पकेटहरू (Survivable Pockets) हुन सक्ने र त्यहाँ मानिसहरू जीवितै रहने प्राविधिक सम्भावना बलियो रहेको उनको दाबी छ। उद्धार टोलीले हाल सुरुङका प्रवेशद्वारहरू पत्ता लगाउने, पानी निकास गर्ने र बाटो छेकेका गाडी जत्रा विशाल चट्टानहरूलाई विष्फोटक पदार्थको प्रयोग गरी हटाउने जोखिमपूर्ण कार्य गरिरहेको छ।
"हाम्रो मूल्याङ्कन हामीले कति जीवन बचायौँ भन्ने आधारमा मात्र हुँदैन, बरु हामीले अन्तिम क्षणसम्म कुन-कुन जीवनलाई त्याग्न अस्वीकार गर्यौँ भन्ने कुराले निर्धारण गर्छ," प्रा. डिक्सले आफ्नो संकल्प दोहोर्याउँदै भनेका छन्। परिणाम जस्तोसुकै आए पनि नेपाली सुरक्षा निकाय र प्राविधिकहरूसँग मिलेर अन्तिम समयसम्म खोजतलास जारी राख्ने दृढता उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया