वीरगञ्ज/पर्सा, भदौ २१- पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर र एक गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको कमाण्डमा खटिएको विशेष टोलीले शनिबार मध्यराति वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित 'गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि' (क्यासिनो) मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव रहेका छन्।
सरकारी गाडी चढेर क्यासिनो, डिउटी छाडेर इन्स्पेक्टर
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लका अनुसार गाउँपालिका अध्यक्ष यादव पार्टी र पालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडी चढेर क्यासिनो पुग्नुभएको थियो। प्रहरीले क्यासिनो परिसरबाट उक्त सरकारी सवारीसाधन समेत जफत गरेको छ।
यस्तै, पक्राउ परेका इन्स्पेक्टर प्रदीप पौडेल आफ्नो कार्यक्षेत्र (इलाका प्रहरी कार्यालय पोखरिया) को डिउटी छाडेर अन्य व्यक्तिको निजी गाडीमा क्यासिनो पुगेर जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन्। इन्स्पेक्टर पौडेल गत २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत भएका अब्बल दर्जाका अधिकृत थिए।
पक्राउ पर्ने जुवाडे र क्यासिनो कर्मचारीहरूको विवरण
नेपाली नागरिकलाई नेपालकै क्यासिनोमा छिरेर जुवा खेल्न पूर्ण रूपमा कानुनी प्रतिबन्ध रहे पनि क्यासिनो व्यवस्थापनले आर्थिक प्रलोभनमा परी उनीहरूलाई भित्र छिराएको प्रहरीको भनाइ छ।
पक्राउ परेका ४ जना जुवाडे (नेपाली नागरिक):
१. जसवन्त यादव (३६ वर्ष): अध्यक्ष, सखुवाप्रसौनी गाउँपालिका–६, पर्सा
२. प्रदीप पौडेल (३६ वर्ष): प्रहरी निरीक्षक (इन्स्पेक्टर), स्थायी घर म्याग्दी (हाल प्रमुख, ईप्रका पोखरिया)
३. चन्दन सहनी (३० वर्ष): सखुवाप्रसौनी गाउँपालिका–६, पर्सा
४. ओमप्रकाश बैठा (३२ वर्ष): वीरगञ्ज महानगरपालिका–११, पर्सा
नेपालीलाई प्रवेश गराउने क्यासिनोका ४ जना कर्मचारी:
५. विजयकुमार पटेल (२८ वर्ष): वीरगञ्ज महानगरपालिका–१४
६. दनेशकुमार पटेल (३१ वर्ष): वीरगञ्ज महानगरपालिका–२५
७. जयदेव साह (४९ वर्ष): पिपरा गाउँपालिका–५, महोत्तरी
८. प्रदेशी साह (५० वर्ष): वीरगञ्ज महानगरपालिका–१२
पर्सा प्रहरीले छापा मार्ने क्रममा क्यासिनोको महत्वपूर्ण कागजात, कम्प्युटरका हार्डडिस्कहरू र सिसिटिभी क्यामेराको डीभीआर (DVR) बक्स समेत नियन्त्रणमा लिएको छ। जनप्रतिनिधिले सरकारी स्रोत र साधनको दुरुपयोग गरी जुवाको अखडामा पुग्नु र सुरक्षा दिने कमाण्डर आफैँ जुवाको खालमा भेटिनुलाई प्रहरी प्रशासनले गम्भीर रूपमा लिएको छ।
पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी जुवा ऐन र मुलुकी अपराध संहिता अन्तर्गत कानुनी कारबाहीका लागि म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रतिक्रिया