×

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

images

डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युवक बगेको खबर पाएलगत्तै स्थानीयवासी तथा प्रहरी टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।”

वर्षात्का कारण नदीमा पानीको बहाब बढेको र पानी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए ।  ताम्राकार करिब २०० मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए भने वीरेन्द्र अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बिहीबार २३ असार २०७९ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया