काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । यसअघि आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री बालेनले आकस्मिक बैठक बोलाएकाले केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रमअघि प्रधानमन्त्रीले यो बैठक आह्वान गरेका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नेछन् । वर्षायाममा हुने बाढी र स्थानीयको समस्याबारे स्थलगत अध्ययन गर्न जानुअघि मन्त्रिपरिषद् महत्त्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । सामान्यतया मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।
प्रतिक्रिया