×

प्रा.डा. माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार प्रदान गरिने

images

 काठमाडौ । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ । 

सो अवसरमा वरिष्ठ निबन्धकार प्रा.डा. माधव पोखरेललाई नगद रु. पचासहजार राशीसहितको "शंकर लामिछाने निबन्ध पुरस्कार २०७९" प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी प्रतिष्ठानले निबन्ध नियात्राकार ज्ञानेन्द्र विवशलाई नगद रु. पच्चीसहजार राशीसहितको "शंकर लामिछाने युवा निबन्ध पुरस्कार २०७९" प्रदान गर्ने पनि निर्णय गरेको छ । सो निर्णय प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले गरेको हो । पुरस्कार सिफारिस समितिमा साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ "रोदन" र युवराज नयाँघरे रहनु भएको थियो । 

साहित्यकार पोखरेलका निबन्धकृतिहरु "मेरो मान्छे २०५४", ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय २०५७", नागदहको थिति २०५९" गार्गीको गाँठो २०६२ लगायत विभिन्न कृतिहरु प्रकाशित रहेका छन् । 

यसैगरी निबन्ध नियात्राकार विवशका ज्ञानेन्द्र विवशका 
‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य ः जीवन र कला’ (वि.सं. २०७८) र "संवेदनाका स्वरहरु" (संयुक्त निबन्धसङ्ग्रह २०५४) कृतिहरु प्रकाशित रहेका छन् । 

यसअगि "शंकर लामिछाने निबन्ध पुरस्कार"बाट वरिष्ठ निबन्धकारहरु कृष्णचन्द्र सिंह प्रधान, प्रा.डा. दुर्गाप्रसाद  भण्डारी, डा. ताना शर्मा, श्यामप्रसाद शर्मा, प्रा. बालकृष्ण पोखरेल, घनश्याम राजकर्णिकार र गणेश रसिक सम्मानित भइसक्नु भएको छ । 

यसैगरी "शंकर लामिछाने युवा निबन्ध पुरस्कार"बाट निबन्धकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे, भीष्म उप्रेती, डा. दामोदर पुडासैनी, मोमिला जोशी र प्रतीक ढकाल पुरस्कृत भइसक्नु भएको छ ।
 

मङ्गलबार २३ फागुन २०७९ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया