काठमाडौं। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन्।
संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका हुन। त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन्।
एमाले-कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताएका छन्।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ। ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेकोमा आलोचना बढ्दै गएपछि संयन्त्र बनाइएको बताइएको छ।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि कांग्रेस-एमालेले सरकारका कामकाज प्रभावकारी बनाउन संयन्त्र बनाएको बताए। उनकाअनुसार प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन हुनेछ। ‘प्रदेश र जिल्ला तहमा पनि तीन-तीन सदस्यीय संयन्त्र बनाउने तयारी छ,’ उनले भने।
प्रतिक्रिया