×

राष्ट्रपति ट्रम्पलाई विश्वभरका नेताहरूको बधाईको ओइरो, ट्रम्प भन्छन मस्क रिपब्लिकन पार्टीको ‘नयाँ स्टार’

images

काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा आफ्नो विजयको घोषणा गरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा इलोन मस्कको नाम पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल साइट एक्सका मालिक मस्कले ट्रम्पको चुनावी अभियानमा ठूलो भूमिका खेलेका थिए । ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ स्टार’ भनेका छन् ।

दोस्रोपल्ट अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुन लागेका डोनाल्ड ट्रम्पलाई विश्वका नेताहरूले बधाई दिन थालेका छन्। अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार एवम् पूर्वराष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार एवम् उपराष्ट्रपति कमला ह्यारिसमाथि जितको दाबी गरेपछि विश्वका नेताहरूले उनलाई बधाई दिन थालेका हुन्। मत गणनामा निकै जित नजिक पुगेपछि ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै  आफू निर्वाचित भएको दाबी गरेका छन्।

डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए ।

यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

त्यस यता वा त्योभन्दा अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो सफलता हात पार्न सकेका थिएनन् । १३२ वर्षपछि डोनाल्ड ट्रम्प उक्त इतिहास दोहोर्‍याउन सफल हुँदैछन् ।

ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका थिए । त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

सन् २०२० मा भएको निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए । सन् २०२४ मा भने ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पपुलर मतमा पराजित गरेका छन् । यद्यपि, इलेक्टोरल मतमार्फत निर्वाचित नभइ अमेरिकाको नयाँ राष्ट्रपति चयन प्रक्रियाको औपचारिकता पूरा भएको मानिने छैन ।

ऐतिहासिक चुनावी जितेको मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत बधाई दिएका छन्। मोदीले एक्समा लेखेका छन्, ‘ऐतिहासिक चुनावी जितेको मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई।’

मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै आफू भारत-अमेरिका बीचको व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई सुदृढ गर्न र सहयोग अगाडि बढाउन उत्साहित रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सँगै मिलेर हाम्रा जनताको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ।’

इजरायल-अमेरिकाबीचको महान गठबन्धनको शक्तिशाली प्रतिबद्धता : नेतन्याहु

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले ट्रम्प र पत्नी मेलानियालाई जितको बधाई दिएका छन्। नेतन्याहुले सामाजिक सञ्जाल एक्समा ह्वाइट हाउसमा ट्रम्पको ऐतिहासिक पुनरागमन अमेरिकाका लागि नयाँ सरुवात भएको उल्लेख गरेका छन्। ‘यसले इजरायल र अमेरिकाबीचको महान गठबन्धनको शक्तिशाली प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ। यो ठूलो जित हो’, उनले लेखेका छन्।

युक्रेनमा व्यावहारिक रूपमा शान्ति कायम हुने : जलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लादिमिमिर जलेन्स्कीले ट्रम्पको जितले युक्रेनमा व्यावहारिक रूपमा शान्ति कायम हुने आशा व्यक्त गरेका छन्। उनले एक्समा ट्रम्पको सराहना गर्दै लेखेका छन्, ‘म ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिमार्फत शान्ति’ दृष्टिकोणको प्रतिबद्धता कदर गर्दछु। यो ठिक त्यही सिद्धान्त हो जसले व्यावहारिक रूपमा युक्रेनमा न्यायपूर्ण शान्ति ल्याउन नजिक पुर्‍याउन सक्छ।’

हामीसँगै काम गर्न तयार छौँ : म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यान्युएल म्याक्रोनले एक्समा लेखेका छन्, ‘बधाई हो, राष्ट्रपति डोनाल्ड ट्रम्प।’ उनले अघिल्लो चार वर्षको अवधिमा मिलेर काम गरेको स्मरण गरेका छन्। म्याक्रोनले लेखेका छन्, ‘हामीले जस्तो साथ मिलेर काम गरेका थियौँ, त्यसैगरी अब हामी सँगै काम गर्न तयार छौँ।’

ऐतिहासिक चुनावी जितको बधाई : स्टार्मर

बेलायती प्रधानमन्त्री किर स्टार्मरले डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक चुनावी जितको बधाई दिँदै भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई तपाईंको ऐतिहासिक चुनावी जितको बधाई। म आगामी वर्षहरूमा तपाईँसँग काम गर्नको लागि उत्साहित छु।’ उनले अमेरिका र बेलायत सबैभन्दा नजिकका मित्रराष्ट्रका रूपमा स्वतन्त्रता, लोकतन्त्र र उद्यमका साझा मूल्यहरूको रक्षाका लागि एकै ठाउँमा उभिएको पनि उल्लेख गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा बधाई दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालका लागि ऐतिहासिक जितको बधाई! म आगामी प्रशासनसँग मिलेर पाकिस्तान-अमेरिका साझेदारीलाई अझ बलियो र विस्तारित गर्नका लागि नजिकबाट काम गर्न उत्साहित छु।’

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सीसीले ट्रम्पलाई अमेरिकी जनाताको अधिकार पूरा गर्ने काममा सफलता मिलोस् भनी शुभकामना दिएका छन्। साथै उनले शान्ति स्थापना र क्षेत्रीय स्थिरता कायम राख्न तथा इजिप्ट र अमेरिका बीचको रणनीतिक सम्बन्धलाई बलियो बनाउन सँगै काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले ट्रम्पलाई बधाई दिँदै दुई राष्ट्रबीचको क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘अमेरिकाका राष्ट्रपति चयन संसार, हाम्रो क्षेत्र र अस्ट्रलियाका लागि महत्त्वपूर्ण क्षण हो।’ उनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रको स्थिरता र सुरक्षामा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।

डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जितको घोषणा गरे पनि यसका बारेमा औपचारिक घोषणा भने भएको छैन। ट्रम्पले २६७ इलेक्टोरल कलेज र कमला ह्यारिसले २२४ इलेक्टोरल कलेज जित्ने देखिएका छन्।

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकामा बधाई दिएका छन्।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ऐतिहासिक जित हासिल गरेकोमा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

बुधबार २१ कात्तिक २०८१ ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया