×

नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया–प्रशान्त क्षेत्र प्रदान

images

काठमाडौँ। नेपालको अग्रणी बैङ्क नबिल बैङ्कलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ। बैङ्किङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैङ्किङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ।

विश्व प्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैङ्कर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैङ्कले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्याङ्कनका आधारमा प्रदान गरिएको नबिल बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।

‘यो अवार्डले बैङ्कको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,’ उनले भने। नबिल बैङ्कले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नबिलले बैङ्किङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ। ‘बैङ्कले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैङ्कको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो।

‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौँ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैङ्क एपमार्फत ग्राहक अनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौँ,’ ज्ञवालीले भने। यस अवार्डले बैङ्कलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ।

सन् १९८४ मा स्थापना भएदेखि नै नबिल बैङ्कले नेपालमा बैङ्किङ क्षेत्रमा प्रविधिको प्रयोगको थालनी गरेको हो। नेपालको बैङ्किङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैङ्किङ प्रणाली ल्याएर नबिलले बैङ्किङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो। त्यसयता, नेपालकै पहिलो ओपन बैङ्किङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैङ्कले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ।

नबिल बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो। बैङ्कले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।

शुक्रबार​ २४ जेठ २०८२ ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया