लेखनाथ । पोखरा–४, कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् ।
कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिए ।
“यो मुद्दामा छविलाल जोशी र लीला पछाईको तर्फबाट बहस सकिएको छ । आजबाट रवि लामिछानेको तर्फबाट बहस सुरु हुन्छ,” स्रेष्तेदार खनालले भने ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, सुशील पन्त, डा नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज पराजुलीलगायतले बहस गर्ने तयारी छ । मङ्गलबार या बुधवार प्रतिवादीहरूको बहस सकिने र त्यसपछि जवाफी हुनेछ ।
जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पुस २ गते उनीहरू विरूद्ध पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको थप अभियोग लगाइएको छ । पूरक र थप गरी सूर्य दर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन् । उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो ।
प्रतिक्रिया