काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उहाँलाई अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ । यसै गरी, रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जाहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उहाँलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उहाँलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।
रविसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको थियो ।
प्रतिक्रिया