काठमाडौँ । अमेरिकाले भारतमाथि कर लगाएपछि दुई देशबीच तनाव देखिएको छ । यस समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार भारतलाई निशाना बनाइरहेका थिए । तर हालै चीनमा सम्पन्न एससीओ सम्मेलनपछि ट्रम्पको मनोवृत्ति नरम हुँदै गएको देखिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिदै भारत र रुसलाई चीनसँग गुमाइसकेको टिप्पणी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा एउटा तस्वीर पनि सेयर गरेका छन् । यस तस्वीरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ देखिएका छन् । यस पोस्टमा डोनाल्ड ट्रम्पले लेखेका छन्- यस्तो देखिन्छ, हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं । भगवानले उनीहरूलाई लामो र समृद्ध भविष्य प्रदान गरून् ।'
ट्रम्पको यो टिप्पणी यस्तो समयमा आएको हो, जब हालै चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकटताले विश्वको ध्यान खिचेको थियो । ट्रम्प प्रशासनले भारतीय सामानमा लाग्ने भन्सार कर दोब्बर पारेर ५० प्रतिशत पुर्याएपछि र रूसबाट कच्चा तेल खरिद गर्दा थप २५ प्रतिशत शुल्क लगाएपछि भारत-अमेरिका सम्बन्धमा तिक्तता अझ गहिरो बनेको समयमा यो सम्मेलन भएको थियो ।
ट्रम्प प्रशासनले अमेरिका-भारत सम्बन्धलाई दशकौं पछाडि धकेलेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री मोदी रूस र चीनको नजिक पुगेका छन् । बेइजिङले आफूलाई अमेरिका र डोनाल्ड ट्रम्पको विकल्पको रूपमा प्रस्तुत गरेको विश्लेषण अहिले भइरहेको छ ।
प्रतिक्रिया