×

प्रधानमन्त्री प्रचण्डको बोलीमा एमालेको आपत्ति, डाक्यो संसदीय दलको बैठक

images

काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ ।

पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ । सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो। प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिलाई लिएर स्वयम माओवादी केन्द्रका नेताहरु पनि आश्चर्यमा परेका छन् । नेपाली कांग्रेसभित्र पनि दाहालको अभिव्यक्तिबारे छलफल हुनुपर्ने आवाज उठ्न थालेको छ ।

बुधबार २० असार २०८० १२:०० PM मा प्रकाशित

प्रतिक्रिया