काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूहरूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक विशेष राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग आफू र माधवकुमार नेपाललाई सिध्याउने कुनै सामर्थ्य नरहेको जिकिर गरे। आफूहरूलाई कमजोर पार्ने खेल र षड्यन्त्रमा ओलीको 'हाइट' मा बालेन आउनै नसक्ने उनको टिप्पणी छ।
'बालेनले केही गर्न पर्दैनथ्यो, ओली नै काफी थिए'
संयोजक प्रचण्डले आफूहरू विरुद्ध भइरहेका घेराबन्दी र प्रचारबाजीप्रति आक्रामक रूपमा प्रतिवाद गरे। सम्बोधनका क्रममा उनले भने, "यदि हामीले कुनै गल्ती वा कमजोरी गरेको भए केपी ओलीले हामीलाई त्यसै छाड्थे? उहाँले त पहिल्यै हामीलाई जेल हाल्नेसम्मको षड्यन्त्र बुन्नुभएको थियो। हामीलाई फसाउने र सिध्याउने कसरी भन्नेमा केपी ओलीले आफ्नो सबै सामर्थ्य लगाउनुभयो। त्यसैले यो बालेनजीको सरकारले माधवजी र मलाई केही गर्न पर्दैनथ्यो, हामीलाई सिध्याउन केपी ओली नै काफी थिए। तर, हामीलाई सिध्याउने कुरामा केपीको हाइटमा बालेनजी छैनन्।"
१४० अर्बको भ्रम र मुद्दाको फेरिहस्त
आफू र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विरुद्ध राजनीतिक प्रतिशोध साध्न खोजिएको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरे। पछिल्लो समय सामाजिक सञ्जाल र राजनीतिक बजारमा फैलाइएका हल्लाहरूको खण्डन गर्दै उनले थपे, "कहिले दुबईमा प्रचण्डको १४० अर्ब रुपैयाँ छ भनिएको छ। यस्ता भ्रमले तपाईंहरूको पनि दिमाग खराब भएको होला, तीन पटक प्रधानमन्त्री भइसकेको मान्छे कताकता के–के हो जस्तो लाग्दो हो। माधवजीलाई पनि अघिल्लो सरकारले मुद्दा अल्झाएर राखेको छ। यदि त्यस्ता कुरामा सत्यता हुन्थ्यो भने यो वर्तमान सरकारले केही गर्नै पर्दैनथ्यो, ओलीजीले पहिल्यै सिध्याइसक्नुहुन्थ्यो।"
महाधिवेशन र नयाँ नेतृत्वको तयारी
पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले बाह्य भ्रम र षड्यन्त्रको पछि नलागी पार्टी निर्माणमा केन्द्रित हुन निर्देशन दिए। "हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ, युवाहरूलाई अगाडि सारौँ र नयाँ नेतृत्वको सशक्त टिम तयार गरौँ," उनले भने, "हामीविरुद्ध निरन्तर प्रचारबाजी भइरहे पनि हामी अझै वामपन्थी आन्दोलन र सहकार्यको पक्षमा छौँ。 यो हाम्रो राजनीतिक जिम्मेवारी बोध र उदारता हो।"
उनले प्रतिगामी शक्तिहरू अझै पनि लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि लडेका स्थापित दलहरूलाई कमजोर पार्न र आन्तरिक कलह सिर्जना गर्न सक्रिय रहेको भन्दै कार्यकर्ताहरूलाई चनाखो रहन आग्रह गरे।
प्रतिक्रिया