लन्डन । आर्सनल अहिले इंग्लिस प्रिमियर लिगको उपाधि जिततर्फ उन्मुख छ र उसले शनिबार आफू च्याम्पियन हुने टिमको जस्तो जित निकालेको छ । उसले दुई गोलले
पछाडि रहेको स्थिति उल्टाएर बर्नमाउथमाथि ३–२ को उत्कृष्ट जित निकालेको हो । रेस नेल्सनले ९७ औं मिनेटमा गरेको गोलको मदतले आर्सनलले सनसनीपूर्ण जित निकालेको हो ।
बर्नमाउथले फिलिप बिलिङ र मार्को सेनेसीको गोलले दुई गोलको अग्रता लिएको थियो । त्यसपछि आर्सनलका लागि थोमस पार्टे र बेन ह्वाइटले गोल गरे । यो जितपछि आर्सनल ६३ अंकमा शीर्ष स्थानमा कायम रह्यो । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ । सिटीले अर्को खेलमा न्युकासल युनाइटेडलाई २–० ले हरायो ।
यस्तै साउथह्याम्पटनले लेस्टर सिटीलाई १–०, उल्भ्सले टोटनहमलाई १–०, चेल्सीले लिड्सलाई १–०, ब्राइटनले वेस्ट ह्यामलाई ४–० र एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १–० ले हरायो । फ्रान्समा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्को लिग वान उपाधितर्फ उन्मुख छ र यसैक्रममा उसले नेन्ट्समाथि ४–२ को जित निकालेको छ ।
यो जितको सबैभन्दा ठूलो विशेषता रह्यो, केयलिन एमबापेको क्लबका लागि कीर्तिमाान गोल । उनले लिगमा क्लबका लागि २ सय १ औं गोल गरे । सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका उनले यस सिजन ३० गोल गरिसकेका छन् । यससँगै पीएसजीका लागि उनको गोल संख्या २ सय ४७ पुगेको छ ।
प्रतिक्रिया