×

कर्णालीको रैथानेबाली बजारीकरण हुँदै

images


जुम्ला, २० पुस : जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो । 

जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालीकोटमा उत्पादन हुने रैथानी बाली सिमी, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केटमार्फत बजारीकरण गरी बिक्रीवितरण गर्दै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका सञ्चालक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।
   
कर्णाली प्रदेशको सुर्खेतमा समेत मिनिमार्केट सञ्चालन गरेर रैथानेबालीको बजारीकरण गर्दै आएको जनाइएको छ । सञ्चालक पाण्डेले भन्नुभयो, “कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।  बजारमा प्रतिकेजी रु सयमा बिक्री हुने हरियो मल सहकारीले रु ६५ मा कम्पनीकै मूल्यमा बिक्री गर्दै आएको छ ।” यो याममा पुस र माघको महिना स्याउ काटछाँट, मलजल बगैँचा व्यवस्थापन गर्ने याम सुरु भएकाले चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल बिक्रीवितरण गर्दै आएको मिनिमार्केटका सञ्चालक पाण्डेको भनाइ छ ।
   
मल खरिद गर्न पैसा नै चाहिन्छ भन्ने छैन । प्रतिकेजी रु ६५ बराबर जिन्सी सामग्री वा अन्नबाली उपभोक्ताले दिए पनि हुने व्यवस्था गरिएको छ । सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ । जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत बिक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ । सहकारीले रु १५ लाख ६७ हजार रु सात सयमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो । जुम्लामा उत्पादन हुने मार्सी धान ब्लास्ट रोगले नष्ट हुने र उत्पादन घट्ने भएकाले सहकारीले माघ महिनामा माटो परीक्षण शिविर सञ्चालन गरिने चन्दननाथ सहकारीले जनाएको छ ।

शुक्रबार​ २० पुस २०८० ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया