×

रवि लामिछानेसहित १४ जना विरूद्ध पर्सामा पनि पक्राउ पुर्जी

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनलाई हिरासतबाटै प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ । 

लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो ।

सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ । वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको हो। 

सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो। 

त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। 

बुधबार १९ मंसिर २०८१ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया