काठमाडौं । नेपाल र चीन सरकार बीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो ।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृत राई र चिनियाँ समकक्षीले बेइजिङमा हस्ताक्षर गरेका हुन् । नेपालले प्रस्ताव गरेको ‘अनुदानमा आधारित लगानी’ भन्ने शब्दलाई परिमार्जन गरेर हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । हस्ताक्षर समारोहमा नेपालका लागि चिनियाँ राजदूत छङ सोङ लगायत उपस्थित थिए । फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।
नेपालले प्रस्ताव गरे अनुसारको आर्थिक सहयोगलाई अनुदान मान्न चीन तयार नभएपछि मंगलबार बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार भएको भेटका क्रममा विभिन्न ९ सहमति भएका थिए । प्रधानमन्त्री चीन भ्रमणमा रहेको समयमा बीआरआई फ्रेमवर्कमा सहमति भएको हो । उनले मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटपछि मंगलबार नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए ।
प्रतिक्रिया