×

डा. तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

images

काठमाडौं । निर्वाचन आयोगले डा तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ। आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले बताए। आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा. कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेको हो । सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी निवेदन दिने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै ११ पेज लामो निवेदन लिएर निर्वाचन आयोगको टोली सर्वोच्च अदालत पुगिसकेको छ । आयोगका सहायक प्रवक्ता वाग्लेले भने, ‘अन्तरिम आदेश खारेजीको माग राखेर आजै निवेदन दर्ता गरेका छौं ।’ निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्। आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर- ३ मा प्रतिनिधि सभाकी उम्मेदवार हुन्। नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।

गत मंगलबार न्यायाधीश चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो। दुई दिनअघिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘लाभको पद’को विषयलाई उपयुक्त व्याख्या गराउन आयोगले प्रयत्न गर्ने बताएका थिए ।

शुक्रबार​ १८ कात्तिक २०७९ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया