×

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

images

काठमाडौं। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ । राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

ब्रह्मचारिणी देवीको स्वरुप

संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।

शुक्रबार​ १८ असोज २०८१ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया