×

बढी भाडा असुल्ने पाँच पक्राउ

images

 
काठमाडौं । निर्धारित दरभन्दा धेरै भाडा असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्ने सुविधा काउण्टरका कामदार २४ वर्षीय दुर्गा तामाङ, २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाका सुमोका चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरका सुमोका चालक २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् । उनीहरुलाई बिशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले बल्खुबाट पक्राउ गरेको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयस्थित पिडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिवार बिहानै बल्खु क्षेत्रमा अनुगमन गरेको थियो । सोहीक्रममा तोकिएको दरभन्दा बढी भाडा असुलेका भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । होली मनाउन काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन गरेको थियो । 

ट्राफिक प्रहरीका अनुसार निर्धारण गरिएको भन्दाबढी असुलिएको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले यस्ता अनुगन आगमी दिनमा पनि जारी रहने जानकारी दिए । 

शनिबार २० फागुन २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया