×

अवैध कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता

images

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।

विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ७ सी ४२२४ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान ( ३४ लाख) र पाँच सय दरका दुई हजार थान (१० लाख) फेला पारि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट रकम आएको पाइएको अधिकारीले बताए । विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्यलाई बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजार रुपैयाँसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार रुपैयाँ बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा अरुण यादवलाई आठ करोड करोड ६५ लाख ६० हजार र पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८ हजार रुपैयाँ गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ । उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले त्यहीअनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।

मङ्गलबार १६ असोज २०८० ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया